दाङमा लागुऔषध कारोवार बढ्दो

डिसी नेपाल
१९ पुष २०७६ १७:०६

लुम्बिनी । ङमा लागुऔषध कारोवार बढिरहेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा ११ लागुऔषधका मुद्दा दर्ता भएका छन् । यसमा २१ पुरुष, चार महिलालाई पक्राउ गरिएको छ । यस्तै पाँच सेवनकर्ता, तीन बिक्री वितरण र तीन ओसारपसारको रूपमा पक्राउ परेका छन् ।

चालू आवको अहिलेसम्म तीन किलोग्राम अफिम, आठ किलोग्राम ५१३ ग्राम चरेस, लागुऔषध ब्राउनसुगर ५१ मिलीग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए ।

आव २०७५÷७६ मा ३५ मुद्दा दर्ता भएकामा ४९ पुरुष, नौ महिला संलग्न थिए । नौ जनालाई सेवनकर्ताको रूपमा, छ ओसारपसारको मुद्दामा पक्राउ परेका हुन् । उनीहरुबाट ६० किलोग्राम चरेस, सात किलोग्राम गाँजा, ९७ ट्याब्लेट नाइट्रोभेट, २२० ग्राम ३९० मिलीग्राम ब्राउनसुगर, दुई किलोग्राम पाँच ग्राम १० थान अफिक, डाइजाम र नुफिन १० थान बरामद गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमका अनुसार आर्थिक, पारिवारिक, सामाजिक, आफू स्वतन्त्र रहन चहानु, महत्वाकाङ्क्षी बढ्दै जानु, बीचमै पढाइ छोड्नु, गलत सङ्गतलगायतका कारणले यस्ता घटना बढेको उनको भनाइ छ । प्रायः १८ देखि २० वर्षमुनिका व्यक्ति लागुऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ ।

पटक–पटक एउटै व्यक्ति संलग्न

दाङ तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिशील टोलका शान्ता गिरी पहिलोपटक विसं २०७५ पुस १ गते पक्राउ परिन् । उनलाई अवैध लागुऔषध कारोवार गरेको प्रमाणित भएपछि जेल चलान गरियो । उनले तोकिएको कैद भुक्तान गरिन् ।

उनी जेलमुक्त भएपछि पनि उनले लागुऔषध ओसारपसारलाई पेशा बनाइन् । त्यस्तै घोराही उपमहानगरपालिका–१३ का अभिनाष थापा लागुऔषध कारोवार गरेको अभियोगमा दुईपटक पक्राउ परिसकेका छन् । यी त उदाहरणका पात्र मात्रै हुन् ।

पछिल्लो समय यसरी एउटै व्यक्ति पटक–पटक लागुऔषध कारोवारमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले बताए । “हामीले एउटै व्यक्तिलाई लागुऔषध कारोवार गरेको अभियोगमा पक्राउ गर्ने गरेका छौँ”, उनले भने, “अहिले कैद भुक्तान गरे पनि धेरै व्यक्ति पुनः लागुऔषध कारोवारमा संलग्न हुने गरेको पाइएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *