सिक्री स्न्याचिङ र मोटरसाइकल चोरीमा संलग्न समूह पक्राउ

डिसी नेपाल
२२ असोज २०८३ १७:४१
8
Shares

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिकाका २६ वर्षीय आयन माझी, मकवानपुर बकैया गाउँपालिका–७ घर भई हाल भक्तपुरको थिमी नगरपालिका–४ बस्ने ३६ वर्षीय मनोजकुमार मोक्तान र मकवानपुर बकैया गाउँपालिका–५ घर भई हाल थिमी नगरपालिका–४ बस्ने २४ वर्षीय राकेश थिङ छन्।

प्रहरीका अनुसार माझी समूहको मुख्य योजनाकार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरेको प्रहरीको दाबी छ। मोक्तानले मोटरसाइकल चालक र थिङले मोटरसाइकलको पछाडि बसेर लुटपाटमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले माझी समूहले विभिन्न स्थानबाट हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको जनाएको छ। लुटपाटका क्रममा प्रयोग गरिएको पल्सर २२० मोटरसाइकल बालकुमारी पुलमुनिबाट लुटिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार समूहले लुटपाटका क्रममा नक्कली नम्बर प्लेट प्रयोग गर्ने र घटनापछि तत्काल नम्बर प्लेट परिवर्तन गर्ने गरेको थियो। पक्राउ परेकाहरूको साथबाट दुई थान मोटरसाइकल, विभिन्न नम्बर प्लेट, एक थान खुकुरी तथा घटनामा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समूहले बिहानको समयमा मर्निङ वाकमा निस्किएका, तरकारी बिक्री गर्न जाने तथा एक्लै हिँडिरहेका महिला र वृद्धवृद्धालाई लक्षित गर्ने गरेको थियो। बाटो सोध्ने बहाना बनाएर नजिक पुग्ने र मौका पाउनेबित्तिकै सिक्री तानेर भाग्ने उनीहरूको एउटा शैली रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, इनड्राइभ तथा पठाओको बहाना बनाउँदै यात्रु खोजेजस्तो गर्ने र मोटरसाइकलमा बस्न खोज्ने व्यक्तिलाई लक्षित गरी सिक्री लुट्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा तीन–तीन जना सवार भई एक्लै हिँडिरहेका व्यक्तिलाई घेरा हाल्ने, हतियार देखाउने तथा साथमा रहेका नगद तथा बहुमूल्य सामान लुट्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार आयन माझी विगतदेखि नै लुटपाट तथा डकैतीका घटनामा संलग्न रहँदै आएका व्यक्ति हुन्। काठमाडौंको बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा भएका लुटपाटका घटनामा उनी र उनको समूह संलग्न रहेको प्रहरीको दाबी छ।

माझीविरुद्ध काठमाडौं, भक्तपुर तथा काभ्रेलगायतका प्रहरी कार्यालयमा डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।

पक्राउ पर्दै छुट्दै र पुनः अपराधमा संलग्न हुँदै आएका माझीविरुद्ध भक्तपुर, थिमी, बनेपा तथा काठमाडौं परिसरबाट विभिन्न समयमा मुद्दा चलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ २४ गतेको जेन–जी आन्दोलनपछि एटीएम तथा बैंकमा भएका लुटपाटका घटनामा पनि माझी समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, पछिल्लो समय भएका दुई घटनालाई आधार बनाएर प्रहरीले समूहको अनुसन्धान अघि बढाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *