चौबिस दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

डिसी नेपाल
२२ असोज २०८३ १४:४०
8
Shares

काठमाडौं। वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका गम्भीर समस्या समाधानका लागि सरकारसँग विशेष र तत्काल पहल गर्न आग्रह गरेका छन्।

विगत २४ दिनदेखि निरन्तर आन्दोलनमा रहेका रेजिडेन्ट डाक्टरहरूले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्रालयका उच्च अधिकारीसमक्ष आफ्ना गुनासा तथा मागहरू प्रस्तुत गरेका हुन्।

मन्त्रालयमा आयोजित उक्त छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टरहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। सो क्रममा उनीहरूले कलेजमा अध्ययन तथा चिकित्सा सेवा दिने क्रममा कलेज व्यवस्थापनबाट व्यहोर्नुपरेका अनेकौँ दबाब र समस्याबारे मन्त्रालयलाई जानकारी गराएका छन्।

रेजिडेन्ट डाक्टरहरूले कलेज प्रशासनबाट विद्यार्थीहरूलाई अनावश्यक दबाब तथा मानसिक टर्चर दिने गरिएको र अध्ययनका लागि न्यूनतम शैक्षिक वातावरणसमेत नरहेको गम्भीर आरोप लगाएका छन्। उनीहरूले कलेजमा तत्काल शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरण निर्माण गरी पुनः अध्ययनमा फर्कने अवस्था बनाइदिन सरकारसँग जोडदार माग गरेका छन्।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च पदाधिकारीहरू सहभागी थिए। रेजिडेन्ट डाक्टरहरूले वर्तमान सरकारप्रति आफूहरू अझै आशावादी रहेकाले नै समस्याको ठोस निकास खोज्न मन्त्रालयसम्म धाउनुपरेको स्पष्ट पारेका छन्। “यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,” उनीहरूले भने।

यसैगरी, रेजिडेन्ट डाक्टरहरूले नेशनल मेडिकल कलेजका साथै अन्य विभिन्न निजी मेडिकल कलेजहरूमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ खडा गर्ने गरिएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन्। यस्ता गैरकानुनी तथा अवांछित गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

आन्दोलनरत डाक्टरहरूले कलेजमा हालकै स्थितिमा फर्किएर अध्ययन गर्न सक्ने कुनै वातावरण नरहेको स्पष्ट पार्दै आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन्।

अर्कोतर्फ, मन्त्रालयले रेजिडेन्ट डाक्टरहरूले उठाएका जायज विषयहरूमा आवश्यक र प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले रेजिडेन्ट डाक्टरका वास्तविक समस्या उनीहरूबाटै प्रत्यक्ष रूपमा सुन्ने र समस्या समाधानका लागि सरकारको तर्फबाट चाल्न सकिने कदमबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए।

“यो विषयमा सरकार अत्यन्तै गम्भीर छ। शिक्षामन्त्रीज्यूले पनि यसलाई गम्भीरताका साथ हेर्नुभएको छ। तपाईंहरू आशा लिएर जानुस्, हामी यथाशीघ्र छिटो यसलाई सम्बोधन गर्छौँ,” झाले भने।

कलेजमा देखिएका समग्र समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। रेजिडेन्ट डाक्टरहरूले पनि सरकारको यो पहलबाट आफ्ना समस्याको स्थायी समाधान हुने र कलेजमा पुनः शान्तिपूर्ण रूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा व्यक्त गरेका छन्।

त्यस्तै, कार्यक्रममा सहभागी चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि विद्यार्थीहरूले भोगेका समस्याप्रति आयोग गम्भीर रहेको र यसको उचित निकासका लागि आवश्यक पहल गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *