ट्याक्सी चालकलाई धारिलो हतियार देखाई लुटपाट गर्ने चार जना भक्तपुरबाट पक्राउ
काठमाडौं। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्दै आएका दोलखाका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नवीन राउत र काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा गत मङ्गलवार बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई धारिलो हतियार देखाई उनीहरूले नगद र मोबाइल लुटेर फरार भएका थिए। घटनालगत्तै जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनामाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment