सुवास खकुरेलको शानदार पारीमा प्रदेश ३ सेमिफाइनलमा

डिसी नेपाल
१९ पुष २०७६ १९:०६

काठमाडौं । सुवास खकुरेलको कप्तानीमा रहेको प्रदेश नम्बर ३ मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको इनरुवामा शनिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ सेमिफाइनलमा प्रवेश गरेको हो ।

इनरुवा रंगशालामा वर्षाको कारण खेल २८ ओभरमा झारिएको थियो । ओभर घटाईएको खेलमा प्रदेश १ ले प्रदेश ३ लाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको थियो ।

प्रदेश १ ले दिएको लक्ष्य प्रदेश ३ ले २६ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । प्रदेश ३ को जितमा कप्तान सुवासले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै जितेन्द्र ठकुरीले अविजित १७ रन जोड्दा रित गौतमले पनि १७ रन बनाए । आदील खान ११ रनमा आउट भए । प्रदेश १ का सुभान्कर उराले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान पुष्प थापाले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनिष थापाले २० रन जोड्दा फिर्दोस अन्सारीले १८ र राज थापाले १० रन बनाए ।

प्रदेश ३ का नन्दन यादबले ४ विकेट लिए । राम नरेश गिरीको नाममा २ विकेट रह्यो ।

जितसँगै प्रदेश ३ ले २ खेलमा ३ अंक जोड्यो । र, समूह सी को शीर्ष स्थानमा रहदै प्रदेश ३ ले अन्तिम चारको यात्रा तय गरेको हो । यस समूहबाट २ अंक जोडेको प्रदेश १ र १ अंक जोडेको प्रदेश ५ बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *