सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग

डिसी नेपाल
२० पुष २०७६ १५:३८

काठमाडौं। सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ।

सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले बताए। दुई पक्षको विवादका कारण केहीबेर सडकसमेत अवरुद्ध भएको थियो।

निजी जग्गा भएको स्थानमा जग्गाधनीसँग सहमति भए मात्र केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर गरी १४ मिटरको र सरकारी एवं सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने सहमति सरोकार भएका निकायबीच भएको थियो।

सहमति विपरीत आईतबार बिहान निर्माण व्यवसायीले गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीमा एकपक्षीयरूपमा बलजफ्ती विस्तार गर्न खोजेको स्थानीयवासी कमला श्रेष्ठले बताईन्।

चावहिल–साँखु र कलङ्की–थानकोट सडक किनारका घर एवं जग्गाधनीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २०७४ असोजमा मुआब्जा नदिई सडक विस्तार नगर्न सरकारका नाममा आदेश दिएको थियो। आदेश विपरीत आधिकारिक निकायले नापजाँच नगरी निर्माण व्यवसायीले विस्तार गर्न खोजे अदालत जान बाध्य हुनुपर्ने उनले बताईन्।

सडक पीडितले आजै नगर प्रमुख सन्तोष चालिसेलाई भेटी निजी सम्पत्तिमाथि धावा बोल्ने अधिकार कसैलाई नभएको भन्दै ध्यानाकर्षण गराएको समितिका सचिव सुशील सिम्खडाले जानकारी दिए। नगर प्रमुख चालिसेले विवाद भएका स्थानमा आपसी छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन्। सङ्घर्ष समितिले भने एकपक्षीयरुपमा सहमति विपरीत काम गर्न थाले सामूहिकरूपमा न्यायालयको ढोका ढक्ढक्याउने जनाएको छ। संविधान प्रदत्त निजी सम्पत्तिको हकको हनन् हुने जुनसुकै हर्कत रोक्न समितिले नगरपालिकासँग माग गरेको छ।

चार वर्ष अघि नै ठेक्का भएको सात किमी जोरपाटी–सुन्दरीजल सडक दुई पटक म्याद थप्दा पनि अलपत्र छ। यो मार्गमा पर्ने करिब ९०० घरका धनीले आफ्नो आवासको हक हनन् हुनेगरी सडक बनाउन नदिने भन्दै विरोध जनाउँदै आएका छन्।

निर्माण व्यवसायीले भने सार्वजनिक जग्गा भएको स्थानमा पनि काम नगर्दा सडक जीर्ण बन्दै गएको छ। नेपाल भ्रमण वर्ष शुरु भए पनि पर्यटकीयस्थल सुन्दरीजल जाने सडक बन्न सकेको छैन। यो सडकबाट विदेशी एवं आन्तरिक पर्यटक शिवपुरी नागार्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रा जाने गर्छन्।

यसैगरी चिासापानी, मेलम्ची, हेलम्बु, नगरकोटलगायत पर्यटकीयस्थलमा पनि यो मार्गबाट पदयात्रा हुने गरेको छ। सडकको अवस्था बिग्रँदै गएपछि पर्यटक आवागमनमा कमी भएको बेला सरकारले भ्रमण वर्ष घोषणा गरेकामा स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले आश्चर्य प्रकट गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *