बेलायतमा भ्रमण वर्षको शुरुआत

डिसी नेपाल
२० पुष २०७६ २०:१३

लण्डन । बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष शुरुआत गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गरेका हुन । उनले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटन लैजान कोशिश गरे मात्रै पनि डेढ लाख पर्यटक नेपाल जाने बताए।

राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिशस्थित साथीलाई भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे । उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टलाई ‘भिजिट नेपाल इयर २०२०’ को प्रचारप्रसार गर्न र दूतावासले ‘भिटिज नेपाल’का पर्चासमेत रेष्टुरेन्टलाई उपलब्ध गराउने बताए ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा लन्डनका ५० बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए । उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्षसम्बन्धी कार्यक्रम आयोजना गरिएको बताए । गत वर्ष जनवरी १९ मा राजदूत सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समितिसमेत गठन भइसकेको उनले जानकारी गराए । उनले सन् २०२० मा बेलायतबाट कम्तिमा एक लाख पर्यटक पठाउने गरी कार्ययोजना बनाइएको जानकारी गराए।

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै संघसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरे। सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका २२ विभिन्न समितिका पदाधिकारीले आआफ्ना समितिका कार्यक्रम र योजनाबारे प्रस्तुती गरेका थिए । समारोहमा बेलायतको मिडल्याण्डलगायत विभिन्न सहरबाट आएका नेपाली समुदायका अगुवाको उल्लेख्य उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *