दिल्लीमा नेपाली पुस्तकालयको स्थापना

डिसी नेपाल
२१ पुष २०७६ १३:४८

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अध्ययनरत सिए विद्यार्थीको छाता संगठन हातेमालो नेपाली विद्यार्थी समुहले पहिलो पटक नेपाली पुस्तकालयको स्थापना गरेका छन् ।शनिबार साँझ एक कार्यक्रमकाबीच  ‘हातेमालो पुस्तकालय’ को उद्‌घाटन गरिएको हो।

नेपाली पुस्तक पढ्ने इच्छा हुँदाहुँदै पनि सहजै पुस्तक उपलब्ध हुन नसक्दा पढ्न नपाउने बाध्यतालाई हटाउन तथा नेपाली साहित्य विधालाई भारतमा पनि संरक्षण एवम् प्रबर्द्धन गर्न हातेमालो नेपाली विद्यार्थी  समुहले दिल्लीमै पहिलो पटक नेपाली पुस्तकालयको स्थापना गरेको कार्यक्रमका संयोजक लक्ष्मण पजीयारले बताए ।

हातेमालो विगतका लामो समय देखि दिल्लीमा रहेर नेपालीहरूको हक हितमा विभिन्न कार्यक्रममा क्रियाशील रहँदै आएको छाता संगठन  हो । स्थापना गरिएको पुस्तकालयको निरन्तरता दिइरहने संगठनका अध्यक्ष रोशन कुमार यादवले बताए । अध्यक्ष यादवले पुस्तकालय स्थापनाको लागि सहयोग गर्ने किताब यात्रालगायत सम्पूर्णलाई धन्यवाद दिएका छन ।

त्यस्तै उनले हातेमालो नेपाली विद्यार्थी  समुहले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनको थालनी गरिसकेको र राष्ट्रको महाअभियानमा हातेमालोले विदेशी भूमिमा पनि आफ्नो स्तरबाट अघोषित राजदूतको रुपमा काम गर्नेसमेत जानकारी गराए ।

समुद्घाटन समारोहमा संस्थाका कार्यकारी सदस्य विपल चौलागाईंले नेपाल भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउँदै पर्यटकहरूलाई नेपाल भ्रमणको लागि आह्वान गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *