‘ट्रम्प सुट लगाएका आतंककारी हुन्’

डिसी नेपाल
२१ पुष २०७६ १४:२३

काठमाडौं। इरानको कुद्स सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अहिले अमेरिका इरानबीच तनाव छ । इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनइले सुलेमानी हत्याको कडा बदला लिने चेतावनी दिएका छन्। खामेनोको चेतावनीको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को धम्की दिएका छन्। उनले अमेरिकी नागरिक र सम्पत्तिमाथि आक्रमण गरे इरानका साँस्कृतिक महत्वका ५२ ठाउँमा हमला गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले ती ५२ ठाउँले सन् १९८१ मा इरानले बन्धक बनाएका ५२ अमेरिकी नागरिकको प्रतिनिधित्व गर्ने बताए। इरानका साँस्कृतिक महत्वका ठाउँ ध्वस्त बनाइदिने ट्रम्पको ट्वीटले इरानीको रिसको आगोमा घ्यु थपेको छ। उक्त ट्वीट रिट्विट गर्दै इरानका सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहम्मद जवाद अजारीले ट्रम्पलाई हिटलरसँग तुलना गरेका छन् र उनी सुट लगाउने आतंकवादी भएको बताएका छन्।

उनले लेखेका छन्- आइएसआइएस, हिटलर, गेंग्जिस ती सबैले संस्कृतिलाई घृणा गर्थे। ट्रम्प सुट लगाउने आतंककारी हुन्। महान् इरानी राष्ट्र र संस्कृतिलाई कसैले हराउन सकेका छैनन् भन्ने इतिहास उनले छिट्टै थाहा पाउनेछन्। ट्रम्पको उक्त भनाइको आलोचनामा इरानमा मात्र होइन अमेरिकामा पनि भइरहेको छ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीले धेरै अमेरिकीको हत्या योजना बनाएको उल्लेख गर्दै सम्भावित क्षति रोक्न उनलाई मार्नु परेको तर्क गरेको छ। सुलेमानीमाथिको ड्रोन आक्रमण राष्ट्रपति ट्रम्पको निर्देशनमा गरिएको पेन्टागनको भनाइ छ। तर प्रतिपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले सुलेमानीको हत्या अहिले नै किन गरियो भन्ने कुराको ट्रम्पले चित्त बुझ्दो जवाफ नदिएको बताएका छन्।अमेरिकाजस्तो शक्ति राष्ट्रले कुनै मुलुकको साँस्कृतिक केन्द्रमा हमला गर्छु भन्ने कुरा नसुहाउने भएको उनीहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *