अस्ट्रेलियामा भ्रमण वर्षको उद्घाटन भद्रगोल, प्रहरीले रोकिदियो पर्यटनमन्त्रीको र्‍याली

डिसी नेपाल
२२ पुष २०७६ १२:३७

काठमाडौं। अस्ट्रेलियामा आज गरिने भनिएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन र्‍याली सिड्नी प्रहरीले रोकिदिएको छ । आज पर्यटनमन्त्री योगेश भट्टराईसहित सहभागी भइ र्‍याली निकाल्ने कार्यक्रम थियो । नेपालको यस वर्षको सबैभन्दा महत्वाकांक्षी मानिएको भ्रमण वर्षको आज अस्ट्रेलियामा उद्घाटन गर्ने कार्यक्रम तय भए पनि यसको लागि आयोजकले स्थानीय प्रशासनसँग अनुमति नलिएको अस्ट्रेलियाको मिडिया साउथएसिया डटकम डटएयुले दावी गरेको छ

र्‍यालीमा पर्यटनमन्त्री योगेश भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, न्यूसाउथ वेल्सका लागि नेपाली कन्सुल जनरल दीपक खड्का, भिक्टोरियाका लागि नेपाली कन्सुल जनरल चन्द्र योञ्जन लगायत सहभागी हुने कार्यक्रम थियो । न्यूसाउथ वेल्स पुलिसको इभेन्ट प्लानिङ युनिटले विभिन्न कारण देखाउँदै आयोजकलाई र्‍याली नगर्न भनेको थियो ।

पुलिसले यो र्‍याली प्रवर्द्धनात्मक र आर्थिक लाभको भएको भन्दै रोकेको थियो । यसबाहेक पुलिसले यो र्‍याली प्रदर्शन गर्न पाउने अधिकारसम्बन्धी कानुनअनुसार समेत नभएको भनेको थियो । पुलिसले र्‍यालीमा सहभागी हुनेहरुको संख्या ठूलो भएकोले यसले पूरै फुटपाथ कब्जा गर्ने र पैदल यात्रीलाई असुविधा हुने समेत कारण देखाएको थियो ।

सिड्नीमा बस्दै आएका गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष डिला खरेललाई आयोजकले स्थानीय प्रशासनसँग अनुमति लिने जिम्मेवारी दिएका थिए । तर, प्रशासनले अनुमति दिएको थिएन । खरेलले आफूले अनुमति अस्वीकृत भएको जानकारी आयोजकलाई दिएको र आयोजकले पनि यसप्रकारको र्‍याली नगर्ने भएको दावी गरेका छन् ।

त्यही समूहका कुनै एक व्यक्तिले भीडभाडसहितको र्‍याली गर्ने निर्णय गरेर पर्यटनमन्त्रीलाई लज्जित हुने अवस्था बनाएको समाचारमा जनाइएको छ । ल्यूमेहमा बस्दै आएका फ्रिल्यान्सर पत्रकार प्रकाश हुमागाइँले देशका पर्यटनमन्त्रीजस्ता व्यक्तित्व सहभागी हुने कार्यक्रमको व्यवस्थापन गैरजिम्मेवार भएको गुनासो गरे । ‘पुलिसले र्‍याली रोकेको देखेपछि सहभागीहरु निराश भएका थिए । उनीहरुले आयोजकलाई व्यवस्थापन गर्न नसकेको आरोप लगाए’ उनले भने ।

अस्ट्रेलियामा भीषण आगलागीले ठूलो नोक्सानी पुर्याएको बेला भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्ने सही समय नभएको भन्दै स्थानीयले समेत विरोध गरेका थिए । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आजको कार्यक्रम पहिलेदेखि नै तय भएकोले गर्नैपर्ने बताएका थिए । उनले मन्त्री फेरि आउन सक्ने निश्चित नभएकोले पनि कार्यक्रम गर्नैपर्ने बाध्यता रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *