इरान र अमेरिकाबिच तनाव बढेपछि यूकेका जहाज र हेलिकप्टर तयारी अवस्थामा
बीबीसी । मध्यपूर्वमा तनाव बढेपछि यूकेले रोयल नेभी र सैन्य हेलिकप्टरहरू तयारी अवस्थामा राखेको रक्षामन्त्री बेन वालेसले बताएका छन्।
वालेसले संसद्मा बोल्दै सो क्षेत्रमा ब्रिटिश नागरिक र आफ्नो चासोको सुरक्षा गर्न आपत्कालीन व्यवस्था तयार राखिएको बताएका छन्। उनले अत्यावश्यक बाहेकका अन्य कर्मचारीलाई बग्दादबाट बाहिर ल्याइएको बताए।
वालेसको यो भनाइ गएको शुक्रवार अमेरिकाले इरानी जेनरल कासिम सुलेमानीलाई इराकमा मारेपछि उत्पन्न परिस्थितिको माझ आएको हो। वालेसले ब्रिटिश सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा यूकेले सबै पक्षलाई तनाव मत्थर पार्न आग्रह गरेको बताए।
इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गर्दा इराकमा रहेका ब्रिटिश सेनालाई कुनै क्षति नभएको बताइएको छ। ब्रिटिश सरकारका प्रवक्ताले भने, ‘हाम्रो पहिलो प्राथमिकता ब्रिटिश नागरिकको सेनाको सुरक्षा हो।’
इराकमा करिब ४०० ब्रिटिश सेना रहेका छन्। मङ्गलवार यूकेले इरानमाथि सैन्य आक्रमण गर्ने सम्भावनाबारे गरिएको प्रश्नमा रक्षामन्त्री वालेसले अहिले कुनै कुरा हुँदैन भन्न नसकिने बताएका थिए।
उनले ब्रिटिश नागरिक वा सेना मारिएको खण्डमा त्यसको जवाफ आनुपातिक हुने बताएका थिए। ‘यूकेले आफ्नो सेना र नागरिकको सुरक्षाका लागि जे गर्नुपर्ने हो त्यो गर्छ। त्यो हाम्रो कर्तव्य हो।’
एक प्रश्नको जवाफमा संसद्मा वालेसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथिको यूकेको समर्थन प्रश्नविहीन नभएको बताए। उनले भने, ‘हामी साथी र साझेदार हौँ तर आवश्यक पर्दा आलोचनात्मक साथी र साझेदार पनि हौँ।’
वालेसले अमेरिकाले भङ्ग गरेको इरानको परमाणुसम्बन्धी सम्झौतालाई पुनर्जीवित गर्न अन्य युरोपेली मित्रहरूसँग काम गरिरहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment