३ नम्बर प्रदेशसभामा थरीथरी मागः काभ्रेदेखि नुवाकोटसम्मको चर्चा

डिसी नेपाल
२३ पुष २०७६ १९:२०

हेटौंडा । प्रदेश नम्बर तीनको प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामाकरणका विषयमा अध्ययन गर्न गठित सम्भाव्यत अध्ययन विशेष समितिको प्रतिवेदनमाथिको छलफल सुरु भएको छ । समिति सभापति दीपक निरौलाले प्रदेशसभामा पेश गरेको अध्ययन प्रतिवेदनमाथि समिति सदस्यहरुले आफ्नो धारणा राखिरहेको छन् ।

सांसद शशीजंग थापाले भक्तपुर राजधानी तोक्न माग गरे । प्रदेशभित्रका १३ जिल्लाको आकर्षणको केन्द्र भक्तपुर भएकाले पनि राजधानी तोकिनुपर्ने उनले बताए । भक्तपुरमा शिक्षा विभाग र सो अन्तर्गत रहेका कार्यालयहरु रहेको २ सय रोपनी जग्गा खालि हुने भएकाले प्रदेशका सम्पूर्ण कार्यालय राख्न प्रयाप्त जग्गा भएको, मध्यपुर ठिमीमा रहेका कृषि तालिम केन्द्रकोे भवन सचिवालय तथा सभाहलका लागि प्रयोग गर्न सकिने, अरनीको राजमार्गबाट नजिकको दुरीमा रहेको र केन्द्रीय मन्त्रालयहरु समेत नजिक रहेकाले भक्तपुर उपयुक्त हुने उनले बताए ।

सांसद बलराम पौडेलले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले हेटौडाको इतिहास र दिर्घकालिन सोच राखेर अस्थायी राजधानी तोको स्मरण गराए । नेपालको एक महत्वपूर्ण आर्थिक नाका वीरगञ्ज भन्सार नजिक पर्ने, धेरै क्षेत्रिय कार्यालयहरु हेटौडामा रहेको, पूर्व पश्चिम राजमार्गको मेरुदण्ड भएकालेपनि हेटौडा उपयुक्त भएको बताए ।

सांसद रत्नप्रसाद ढकालले भौगोलिक, सामाजिक र सांस्कृतिक आधारमा काभ्रेजिल्ला उपयुक्त हुने धारणा राखे । प्रदेशको नाम राख्ने विषयमा धेरै विवाद बहस भइरहेको सन्दर्भमा पहिचानको आधारमा नामाकरण हुनुपर्ने उनले बताए । पहिचानको मुद्धा उठाएर हजारौँले बलिदान दिएको भन्दै उनले प्रतिवेदन राम्रोसँग अध्ययन गरी निर्णय गर्न पनि आग्रह गरे ।

त्यसैगरी, सांसद विशाल खड्काले प्रतिवेदनमा उल्लेख भएका विषयहरु राम्रोसँग अध्ययन गर्न आग्रह गरे । भोलीको पुस्ताले गाली गर्ने गरी निर्णय गर्नुभन्दा सबैलाई जवाफ दिन सक्ने गरी निर्णय गर्न सबैलाई आग्रह गरे । भोलीसम्मको पुस्तार्लाइ सहज ढंगले अगाडी बढाउने गरी राजधानी तोकिनुपर्ने उनले बताए ।

यस्तै, सांसद नरोत्तम बैद्यले अध्ययन समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा राजधानी तोक्ने नसकिने बताए । किटानी गरी राजधानी राख्न उपयुक्त ठाउँ तोक्नुपर्ने भएपनि कार्यदलले त्यो नगरेको भन्दै उनले आक्रोश समेत पोखे ।

भक्तपुरमा राजधानी राख्दा संघीय सरकारले काम गर्न नदिने भन्दै उनले सबै हिसाबबाट काभ्रे उपयुक्त हुने धारणा राखे । ‘भक्तपुरमा राख्दा दिल्लीको केजरीवालको जस्तो हुन्छ । सरकारले काम गर्न दिँदैन् । हरेक हिसाबबाट पायक पर्ने काभ्रे हो । प्रतिवेदनको हिसाबबाट मकवानपुर त लाष्ट । परीक्षामा १०० नम्बर आउने पास कि ३० आउने पास हुन्छ ? मकवानपुर लास्ट छ । तर सिफारिस गर्नुपर्छ भन्छ’, उनले भने ।

सांसद पुकार महर्जनले नेकपा सचिवालयले राजधानी र नामका विषयमा गरेको निर्देशन संविधानको भावना विपरित भएको बताए । प्रदेशसभाको सपथ लिएको २ वर्षसम्म पनि निर्णय गर्न नसक्दा सचिवालयलाई जिममेवारी दिनुले देशमा संघीयता लागु भएपनि नेताहरुको सोचमा परिवर्तन हुन नसकेको भान हुने गरेको उनले बताए ।

सांसद हिरानाथ खतिवडाले नुवाकोट राजधानी हुनुपर्ने माग राखे । समितिले ५ जिल्लाहरु सिफारिस गरेपनि नेपाल एकीकरणको विरताको थलो नुवाकोट भएकाले त्यहाँ राजधानी हुनुपर्ने उनले बताए । रसुवा धादिङ र चितवनलाई नुवाकोट पायक पर्ने र सिन्धुपाल्चोकसँग सीमाना जोडिएको मध्यपहाडी लोकमार्गले मेलम्चीसँग जोड्ने भएकाले पनि नुवाकोटा उपयुक्त हुने उनको धारणा थियो । सबै राजधानीहरु भारतको सीमासँग नजिक भएको भन्दै उनले प्रदेश नम्बर ३ को राजधानी चीनसँग नजिक किन नराख्ने उनले भने ।

सांसद प्रतिमा श्रेष्ठले प्रदेशको नाम र राजधानी पहिचानका ५ र सामर्थका ४ आधारमा तोकिनुपर्ने बताइन् । पूर्वाधारको विकासको अवस्था, प्राकृतिको स्रोतको सम्भावना, प्रशासनिक सुगमता लगायतका विषयहरुको अध्ययन गरी राजधानीको विषय टुंगिनुपर्ने उनको धारणा थियो ।

सांसद बसुन्धरा हुमागाईंले काभ्रे राजधानी हुनुपर्ने माग राखिन् । आफ्नो जिल्ला भनेर मात्रै काभ्रेलाई आफुले सिफारिस नगरेको र सिन्धुपाल्चोक र दोलखालाई पनि पायक पनर्ने उनले बताइन् । संघीय राजधानीबाट टाढ हुन नसकिने र चितवनका सांसद पनि दिउँसो बेठकमा सहभागि भएर काठमाडौं बास बसन सक्ने धारणा उनले राखिन् । भोलीका सन्ततीहरुले गाली गर्ने वातावरण नबताउन आग्रह गर्दै उनले संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरिन् ।

सांसद विजया श्रेष्ठले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले विशेष अध्ययन गरेर हेटौँडा अस्थायी राजधानी राख्ने निर्णय गरेको भएपनि नेकपा सचिवालयले २ वर्षपछि गरेको निर्देशन संविधानको भावना विपरित भएको बताइन् ।

नेकपा सचिवालयले दिएको निर्देशनप्रति खेत प्रकट गर्दै उनले बृहत छलफल गरेर पक्ष विपक्षका सांसदहरु एक भएर निर्णय गर्न सकिने बताइन् । उनले हेटौँडा नै राजधानीका लागि उपयुक्त भएको बताइन् । ।

सांसद गीता वाग्लेले मेरो घरको डिलमै राजधानी लग्न पाए हुन्थ्यो भन्ने मानसिकताबाट टाढा हुनुपर्ने बताइन् । पार्टीले दिएकाले नै प्रतिनिधि भएर आएपनि अनुशासन भन्दा बाहिर गएर जे पनि बोल्न नपाईने उनको धारणा थियो ।

‘बोल्न पाइन्छ तर अनुशासन भन्ने चिज सडकदेखि सदनसम्म हुनुपर्छ । हामीलाई मन्त्री दियो भने ठिक नदिए बेठिक’, उनले भनिन्, ‘ काभ्रे लैजाउ, चितवन लैजाउ, नुवाकोट लैजाउँ ..मुखको तितो मात्रै हो हुनेवाला केही छैन् ।’

सांसद कृष्णलाल भँडेलले प्रदेशसभाले गर्ने निर्णयमा नेकपा सचिवालयले हस्तक्षेप गरेको भन्दै चिन्ता व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारले गरेको सबै निर्णय फेर्ने बचन दिएको बताउँदै उनले देउवाले नै तोकेको हेटौडा राजधानी बनाउने विषय पनि फेर्न चेतावनी दिए । सचिवालयले ह्विप जारी गर्नुले राणा र राजा फर्किने हो की भन्ने चिन्ता लागेको उनले बताए । प्रदेशको राजधानी सबै हिसाबले भक्तपुर उपयुक्त हुने उनको धारणा थियो ।

सांसद इन्द्रमाया गुरुङले सिन्धुपाल्चोकको पेम्बाथानबाट जुगुल आउन २ दिनको समय लाग्ने र त्यहाँबाट हेटौँडा आउन १ दिन लाग्ने भएकाले त्यहाँका जनताको अवस्था बुझ्न पनि आग्रह गरिन् ।

काठमाडौं भक्तपुर लागयतलाई मात्रै तुलना गरेर नहुने र नुवाकोट दोलखा र रसुवाका जनतालाई पनि तुलना गर्नुपर्ने उनले बताइन् । ‘हामी जनप्रतिनिधिलाई आउन समस्या छैन् । तर गोल्छेगुम्बा, रामेछाप, दोलखाको दोरम्बाका जनताको हितमा हुन्छ की हुँद्यैन भन्ने कुरा पनि मनन गर्न उनले आग्रह गरिन् ।

सांसद विजय सुवेदीले नेकपाको सचिवालयमा राजधानी र नामका विषयमा छलफल भएको भन्दैमा कोकोहलो गर्नुपर्ने आवश्यकता नरहेको बताए । अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभामा निहित रहेको भन्दै उनले कुनै दलको छलफलमा आपत्ति जनाउन नहुने बताए । सडक सुविधा भएको ठाउँमा राजधानी राखेर आनन्दले बस्ने की नभएको ठाउँमा विकास होस भनेर राजधानी बनाउने भन्दै उनले प्रश्न गरे ।

उनले कांग्रेस सभापतिले नै हेटौडालाई अस्थायी राजधानी बनाउने निर्णय गरेकाले कांग्रेसभित्र कुनै विवाद नहुने र नेकपाले पनि छिट्टै निर्णय गरिसक्ने बताए ।

सांसद शान्ति प्रसाद पौडेलले काभ्रेले ७७ प्रतिशत जनतालाई प्रतिनिधित्व गर्ने भएकाले राजधानी त्यहाँ नै हुनुपर्ने बताए । मकवानपुरले २३ प्रतिशत जनता र २९ प्रतिशत भुगोलको प्रतिनिधित्व गर्ने उनले बताए ।

सांसद रिता माझीले नेकपाल सचिवालयले गरेको निर्णय प्रदेशको राजधानी र नाम तोक्नका लागि मार्गदर्शक बन्न सक्ने बताइन् । २ वर्षसम्म जनताले तिरेको करको सदुपयोग हुन नसकेको बताउँदै उनले अर्को ठाउँमा राजधानी तोक्दा व्यवहार थपिने र त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न समेत गरिन्।

सांसद चन्द्र लामाले काभ्रेमा राजधानी राख्न हावापानी र भौतिक संरचनाका दृष्टिकोणले सबै भन्दा उपयुक्त हुने बताए । संविधानले सिंहदरबारको अधिकार जनताको घरदैलोमा भनेको छ हेटौडामा राखेर आयो ? भन्दै उनले प्रश्न गरे ।

सांसद गोमा भूर्तेलले काभ्रे जिल्ला नै राजधानीका लागि उपयुक्त हुने बताइन् । भौगोलिक हिसाबले काभ्रे उपयुक्त हुने र समितिले पनि काभ्रेलाई एक नम्बरमा प्रस्ताव गरेकाले निर्णय हुनुपर्ने उनले बताइन् । ‘नेताहरु आराम गर्ने ठाउँमा पनि काभ्रे हो । नेताहरु थाकेको बेला त्यहाँ नै जाने गरेका छन्’, उनले भनिन् ।

सांसद रमा आलेमगरले जनताको सेवा सुविधा सर्वसुलभ ढंगले दिन सकिन्छ कि सकिँदैन भन्ने कुरालाई मध्यनजर गर्दै राजधानी तोक्न आग्रह गरिन् ।

सबैको पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्ने भन्दै उनले भोलीको पुस्ताले सराप्ने गाली गर्ने गरी निर्णय नगर्न आग्रह गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *