ए डिभिजन लिगः एपीएफमाथि संकटाको सहज जित

डिसी नेपाल
२४ पुष २०७६ १६:०७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ । बिहिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता पनि संकटाले बनाएको थियो । खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रि–किकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दा पहिलो हाफमा संकटा २–० ले अघि रह्यो । कर्णको यो संकटाको लागि पहिलो गोल समेत हो ।

५३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा एपीएफका नविनले पेनाल्टीमा गोल गर्दै खेल ३–१ को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

तर, खेलको ८८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४–२ को जित दिलाए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए ।

जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *