गैरकानुनी कामको विरोध गर्ने युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर मारियो

डिसी नेपाल
२५ पुष २०७६ १०:२१

काठमाडौं। दक्षिण भारती फिल्ममा देखिने खतरनाक गुण्डागर्दीको शैलीमा नेपालमै अपराध भएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध बालुवा उत्खननको विरोध गर्ने एक युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर किचेर मारिएको छ ।

आज बिहान ४ बजे स्थानीय दिलिपकुमार महतोलाई ट्रिपरले किचेको थियो । उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले दावी गरेका छन् ।

यहाँ स्थानीय नदीमा केही समयदेखि अवैध बालुवा उत्खनन भइरहेको थियो । नदी किनारमै घर भएका महतोले यो उत्खननको विरोध गर्दै आइरहेका थिए । शुक्रबार बिहान पनि उनले उत्खननको विरोध गरेका थिए । उनले विरोध गरेपछि मजदुरहरुले उनलाई समातेर ट्रिपरको टायरमुनि हालिदिए । ट्रिपर चालकले पनि ट्रिपल चलाएर उनलाई किचिदिए ।

महतोको हत्याको विरोधमा अहिले स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले प्रारम्भिक अनुसन्धानमा ट्रिपरले किचेर मारेको देखिएको बताएका छन् । उनका अनुसार ट्रिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । अहिले स्थानीयको प्रदर्शन उग्र भएकोले प्रहरी भिड नियन्त्रणमा लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *