छ महिनामा १३२ जना फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२६ पुष २०७६ २३:४४

खोटाङ । जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छाडेको र १४ जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षभित्र १३० वटा मुद्दा दर्ता भएकामा ७५ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । कार्यालयमा दर्ता भएकामध्ये ५० वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । चालू अवस्थामा पाँच वटा मुद्दामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्दा ४४ वटा र प्रतिवादी फरार भएका मुद्दा चार वटा रहेको जानकारी दिइएको छ । चालू आव अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा १०० जरिवाना र २० वर्ष चार महिना कैद भुक्तान भएको जनाइएको छ ।

यस अवधिमा १८६ वटा ठाडो निवेदन परेकामा १६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्दाको काम बाँकी रहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन् । ४२ महिला, ८ पुरुष, १२ बालिका र तीन बालक गरी ६५ जना हराएकामा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । हराएकामध्ये २१ महिला, तीन पुरुष, आठ बालिका र दुई बालक फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएका भनिएकामध्ये अधिकांश दोस्रो विवाह गरेर जाने महिला रहेको जनाइएको छ ।

दोस्रो विवाह गरेर गएको थाहा पाएपछि आफन्तले फेला परेको जानकारी नदिँदा जिल्लामा बेपत्ताको सूची बढी देखिएको प्रहरीले जनाएको छ । चालू आवभित्रै खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरी चौकी र एक विमान सुरक्षागार्ड स्थापना, स्तरवृद्धि एवं स्थानान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खार्पा, प्रहरी चौकी हरमटार, प्रहरी चौकी दुर्छिम, प्रहरीचौकी यासोलाटार र विमान सुरक्षागार्ड थामखर्कको स्थापना गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *