पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माण हुँदै, लागत ३२ करोड

डिसी नेपाल
२७ पुष २०७६ ७:०१

बागलुङ। आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गरेको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणलाई निरन्तरता दिइएको छ।

तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विसं २०७१ मा शान्ति कलशको शिलान्यास गरेका थिए। विविध कारणले भौतिक पूर्वाधारको काम रोकिएको थियो। शनिबार पञ्चकोटमा पाँचौँ बृहत् श्री सभाका अवसरमा भूमि पुजन गरी विधिवतरूपमा कलश निर्माण शुरुआत गरिएको पञ्चकोट विकास समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्य जानकारी दिए। उनि स्वामी कमलनयनाचार्यका उत्तराधिकारी हुन्।

उनका अनुसार रु ३२ करोडको लागतमा तामा र फलामबाट निर्माण कलश हुँदैछ। कलश निर्माणको जिम्मा सनलाइट निर्माण कम्पनी काठमाडौँले लिएको छ। सबै क्षेत्रबाट पर्याप्त रकम जुटेमा आगामी साढे तीन वर्ष्भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

आकर्षक कलशसँगै पञ्चकोटमा अन्य विभिन्न धार्मिक संरचना पनि निर्माण भइरहेका छन्। करीब १०० रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग, गण्डकी माताको मन्दिर र गरुढ शिला, सिसमहल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर, सभा भवन निर्माण पुरा भएको छ।

पाँच हजार ५५५ केजीको महाघण्टाका लागि आवश्यक संरचना तयार छ। पञ्चकोटमा सम्पूर्ण संरचनाको निर्माण पूरा हुँदा रु दुई अर्ब खर्च लाग्ने अनुमान छ। पञ्चकोटसँगै कारिकोट, माझकोट, रायरायकोट र संसारकोटमा विभिन्न संरचनाको निर्माण थालिएको छ।

बागलुङ नगरपालिका—५ मालिका र पर्वतको जलजला गाउँपालिका धाइरिङमा गौशाला पनि निर्माण गरिएको छ। हालसम्म पञ्चकोटमा २५ करोड बढीको संरचना निर्माण भइसकेको छ।

पञ्चकोटबाट गुर्जा, धवलागिरि, अन्नपूर्णलगायत आधा दर्जन हिमशृङ्खला देख्न सकिन्छ। यहाँबाट कालीगण्डकी नदीसँगै बागलुङ बजारको मनोरम दृश्यावलोकनसमेत गर्न सकिन्छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *