यसपालिको माघमा संक्रान्तिदेखि पातालको नागको फणि चल्ने योग छ

डिसी नेपाल
२९ पुष २०७६ १४:१८

विशेषत अयन भन्ने शब्दको अर्थ ‘तर्फ’ भन्ने लाग्दछ । अयन दुईवटा हुन्छन्—उत्तरायन र दक्षिणयन । सूर्यको गति उत्तरतर्फ लाग्दा माघ संक्रान्तिबाट दिन बढ्दै जान्छ । श्रावण संक्रान्तिबाट दिन घट्दै जाने हुनाले दक्षिणायन हुन्छ ।

माघ महिनाको संक्रान्तिका दिन सूर्य उत्तरायण हुने हुँदा यसलाई माघे संक्रान्ति भनिएको हो । सूर्यलाई लिएरमात्र हामी बाह्रवटा संक्रान्ति मान्दछौं तर हरेक ग्रह एक राशीबाट अर्को राशीमा संक्रान्त हुंदाखेरि त्यसलाई संक्रान्ति भनिन्छ। संक्रान्ति पनि दुई प्रकार हुन्छन्- सायन र निरयण । सायन भन्नाले अयनांशयुक्त प्रष्ट सूर्य संक्रान्तिलाई बुझाउंछ । यो दृश्य संक्रान्ति पनि हो । निरयण संक्रान्तिलाई नै धर्म शास्त्रले मान्यता दिंदै आएको छ।

साथै फलित ज्योतिषले पनि ग्रह गणितीय आधार आफ्नै ठाउँमा रहे पनि निरयण संक्रान्तिको शुभ—अशुभ फल बताएकै हुन्छ । माघे संक्रान्तिबाट सूर्य उत्तरायण हुने आघार हो तर यसपटक २३ दिनपूर्व नै गणितीय आधारमा सूर्य उत्तरतर्फ लागिसकेका छन्। त्यसैले ज्योतिषीय फल पनि २३ दिनपूर्वदेखि कै आधारमा तय गरिनु पर्दछ।

वस्तुत यस वर्षको मकर संक्रान्ति बुधबार परेकोले यसको नाम ‘मन्दाकिनी’ भएको छ।  यसपटकको माघे संक्रान्तिदेखि माघभर पाँचवटा शनिबार परेको छ। माघमा पांचवटा शनिवार पर्नुको अर्थ पातालबासी नागको फणिसँग सम्बन्घित छ। शास्त्रका हिसावले यसपटकको माघे संक्रान्तिदेखि माघ महिनाभर नागको फणि चल्ने अर्थमा लिनु पर्दछ । यदि पाँच शनिबार पर्‍यो भने पाताल बसेको नागको फणि सक्रिय हुनुको ज्योतिषीय अर्थ हुन्छ।

ज्योतिष शास्त्रअनुसार, नागको फणि चल्दा यसबर्ष नेपालबाट पूर्वोत्तर देशहरुमा अरबदेखि अमेरिकासम्मै प्राकृतिक प्रकोपहरुको सामना गर्नु पर्ने हुन्छ । पातालमा नागको फणि चल्ने हुँदा अरबदेखि अमेरिकासम्मका भूभागहरुमा भूकम्प आउने र प्राकृतिकजन्य प्रकोप आउन सक्दछ । अरब र पश्चिमा देशहरुका बीच बैरभाव बढ्ने स्थिति छ तर यस्तो बैरभाव बढेर कुनै कडा युद्धको स्थितिमा भने यो बर्ष पुग्ने योग देखिएको छैन।

यसपटको माघे संक्रान्ति कृष्णपक्षको पञ्चमि तिथिमा परेकोले र यसपक्षमा एक तिथि पनि घटेको हुनाले महंगी बृद्धि अवश्य पनि हुन्छ अरब मुलुकहरु र अमेरिकातिर। हिमपातलगायत प्राकृतिक प्रकोपमात्र नभई राज्य संञ्चालनको विरोधाभाषको जनलहर पनि आउने देखिन्छ। तर, शासन सत्ता परिवर्तन हुने नै भने देखिँदैन।

नेपालको सन्दर्भमा शासकीय संरचनाभित्र संविधानका केही भागहरु संशोधन हुन सक्ने, महंगी बढ्ने, उच्चपदस्थ नेतामध्ये कसैको मृत्यु हुनसक्ने, मन्त्रिमण्डलमा फेरि परिवर्तन हुन सक्ने। पूर्वोत्तर भारतमा कलहको विऊहरु रोपिने, पाकिस्तान,अफगानिस्थानमा अशान्तिकै जोग देखिएको छ। श्रीलंका र माल्दिप्समा दैबी प्रकोपको सम्भावना छ। चीन र भूटानजस्ता देशहरुमा प्राकृतिक प्रकोप बढ्ने छ।

माघमा पाँचवटा शनिवार पर्नुको अर्थ पातालबासी नागको फणिसँग सम्बन्घित छ। शास्त्रका हिसावले यसपटकको माघे संक्रान्तिदेखि माघ महिनाभर नागको फणि चल्ने अर्थमा लिनु पर्दछ । यदि पाँच शनिबार पर्‍यो भने पाताल बसेको नागको फणि सक्रिय हुनुको ज्योतिषीय अर्थ हुन्छ।

सबै सक्रान्तिहरु उदयकालीन मानिन्छन् । जुन दिन सक्रान्ति लाग्छ त्यही दिन कर्कट संक्रान्ति मानिन्छ तर मकर संक्रान्तिचाहिं मध्यान्हपछि लाग्यो भने भोलिपल्टमात्रै मानिन्छ त्यसैले माघे संक्रान्ति पनि उदयकालीन हो । सूर्यको उपासनासँग सम्बन्धित भएकोले माघे संक्रान्तिको महत्वका बारेमा शास्त्रमा निकै चर्चा गरिएको छ। त्यसमध्ये भगवान राम र अयोध्यासँग जोडिएको प्रसँगले यसको महत्वलाई प्रष्ट पार्ने कोसिस यहाँ गरिएको छ —

सूर्यं वंशीय राजपरम्पाराका यश र्कीतिले भरिपूर्ण अयोध्याका राजा दशरथ तीन रानीका साथ दरवारमा बस्दथे। आजैका दिन गुरु बशिष्ठले अयोध्याको दरबारमा राजा दशरथलाई आफ्नो कुल देवता भगवान सूर्यनारायणको पूजा प्रर्थना गराएका थिए। गुरु बशिष्ठ सूर्यबंशीय राजाका कुलगुरु हुन्।

यो बंशका राजाका कुल देवता भगवान सूर्य हुन्। भगवान सूर्यनारायणको पूजा प्रार्थनापछि राजालाई गुरुको आज्ञा भयो—महाराज के इच्छ छ बर माग्नुहोस्। राजा दशरथले विनम्रतापूर्वक गुरुतर्फ फर्केर ‘गुरुदेवको आशीर्वाद र पूर्वजको तपस्याले आफ्नो राज्यमा सबैकुराले भरिपूर्ण भएके बताएका थिए।

तर, भरिपूर्णतामा एउटा पीडा राजाको मनमा गढेको थियो त्यो हो सूर्य बंशको समाप्ति । ‘सबै प्रकारका यश कीर्ति, धन, विजयश्री अयोध्यामा परिपूर्ण भएर पनि शायद म दशरथ नै अन्तिम राजा हुँ कि ?’ भन्ने पीर राजा दशरथले कुलगुरुसँग व्यक्त गर्दा गुरु बशिष्ठ भाव विभोर हुन पुगेको र राजासँगै रानीहरुको भनाइले गुरुलाई कुनै कुनै उपाय पत्ता लगाउनु पर्ने अवस्था आइपरेको उल्लेख पुराणहरुमा गरिएको छ।

यस्तो अवस्थामा राजा दशरथका तीनै रानीहरुले गुरुसमक्ष विन्ती गर्दछन्—‘गुरुदेव सूर्यबंशीय राज परम्पराका सगर, भगीरथ, हरिश्चन्द्र, विलीप , रघुको बंश यहाँ अर्थात दशराथमै टुंगिने त होइन ? हे गुरु, हामी नारीको मनको भावना, चाहना कस्ले बुझिदिन्छ ? विवाहको केही वर्ष वितिसक्यो, हामीलाई आमा भन्ने कोही छैन। यो दरबारमा बालक खेलेको हेर्न पनि रहर भयो। विवाहिता नारी यदि आमा बन्न पाइन भने उसले आफ्नो जीवनलाई अघुरो सम्झन्छे। कृपा हुन्छ भने हामीलाई आमा बन्न सक्ने सामथ्र्य दिनुहोस् । के सूर्यबंशको सूर्य अस्त हुन्छ त ? यस्तो नहोस् गुरुदेव।’

डा. रघुनाथ अर्याल

यसरी गुरुसँग आफ्नो मनोव्यथा,चाहाना आकांक्षा विन्ती गरेपछि महाराज दशरथलाई समेत रानीहरुलाई पुत्रेष्ठित यज्ञ गर्न कुलगुरुले सल्लाह दिएका थिए। तर उनले सो यज्ञ गराउन आफ्नो सामथ्र्य नभएकाले अथर्व बेदका ज्ञाता ऋषि श्रृङ्गिकोमा जान सल्लाह पनि दिएका थिए। उनले ऋषि श्रृङ्गिको आश्रममा जांदा कुनै राजकीय ठांटवांट नदेखाई, घोडा, सुसारेका लस्कर नलिइकन जान राजालाई सल्लाह दिए ।

कुनै तपश्वी, साघु सन्तको मा जाँदा आफ्नो तामझाम नगर्नु नै उत्तम हो भन्ने सुझाव दिँदै माग्नेले खाली झोली लिएर जानुपर्ने सल्लाह दिए। उनकै सल्लाहअनुसार राजा दशरथ खाली खुट्टा राजदरबारबाट एक्लै ऋषि श्रृङ्गिको गए। ऋषिसँग आफ्ना सम्पूर्ण समस्याहरु अनुरोध गरिसकेपछि ती ऋषिले फागुन शुक्लपक्षमा पुत्र कामेष्टि यक्ष गराउनु भएको थियो  त्यही यज्ञको प्रभावबाट चौध महिनापछि अर्थात् चैत्र शुक्ल रामनवमीका दिनमा तीनैजना रानी कौशल्याबाट राम, कैकेयीबाट भरत, सुमित्राबाट लक्ष्मण र शत्रुध्नको जन्म भएको थियो।

आजकल यज्ञ विधि विधान समय शुद्धि केही पनि ख्याल गरिंदैन त्यसैले यज्ञको फल पनि प्राप्त हुँदैन । पहिला पहिला राजा महाराजाहरु ऋषि महर्षिको आश्रममा जान्थे, राष्ट्र, राष्ट्रवासीको हीत र कल्याणका विधि विधानहरु सोध्दथे। आजभोलि साघु सन्त, ऋषि महर्षिहरु नेता वा राजा महाराजको घर घरमा धाउन थालिसकेका छन्।

माघे संक्रान्तिबाट अर्थात् उत्तरायणबाट नै यज्ञ यज्ञाधिका लागि शुभ मानिन्छ। हामी सनातनी धर्मावलम्बीहरुको आराध्य हाम्रो परम्परा रितिरिवाज नै हो । यी हाम्रा अमूल्य निधिहरु यसका विविध पक्ष शास्त्रसम्मत, विधिसम्मत परम्परासम्मत हुनु नै हाम्रा आधारहरु हुन् ।

स्नान दानको विविध महत्व त छंदैछ । हाम्रो देशमा रहेको देवघाट रिडी,बराह क्षेत्र, अन्य विभिन्न त्रिवेणी नदी संगम तलाऊ पोखरीको पनि आफ्नै प्रकारको स्नानको महत्व छ । हामी सनातनी माघीस्नान दानमात्र नभई हाम्रो जात ठाउं विशेषमा पनि यस्को ज्यादै महत्व छ।

तराईवासी हाम्रा दाजुभाइको माघी पर्व होस् वा ल्होसार मान्ने हाम्रा बन्धुहरु हुन् वा यसलाई घिउ चाकुको पर्वरुपमा लिऊँ वा शीतबाट बचेर तातो पीरोका पर्वमा लिउँ। जे भनौं यो माघी संक्रान्ति हो । पूजा र पर्वमात्रै यसपर्वको विशेषता होइन । भाइचारा,मित्रता र सौहार्दताको पर्वका रुपमा हामी सबैले सदैव संस्कार र संस्कृतिको संरक्षण गरौं ।

(लेखक पूर्बराजदरबारका पुरोहित तथा ज्योतिष विज्ञ हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *