आफ्नै २ छोरालाई विष खुवाएर मार्ने कल्पनालाई जन्मकैद, भाग्यले बाँचेका थिए माइला छोरा

डिसी नेपाल
२९ पुष २०७६ १४:२६

दैलेख । आफ्ना दुई नाबालक छोराहरुको हत्या अभियोगमा दैलेखको महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आजीवन काराबासको सजाय सुनाइएको छ । दैलेख जिल्ला अदालतले उनलाई छोराहरुलाई विष खुवाएर मारेको अभियोगमा दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएकोे हो । घटना प्रकृति र घटना सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा कसुर गरेको ठहर भएकोले जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले यस्तो फैसला गरेको हो ।

कल्पनाले २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिट घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठा छोरा आयुष नेपालीको बाटोमै र तीन वर्षीय कान्छा छोरा अमित नेपालीको उपचारको क्रममा ५ दिनपछि कात्तिक १५ गते ज्यान गएको थियो । त्यसको भोलिपल्ट कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा हत्या अभियोगमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीले २०७५ मंसिर १० गते अदालतमा मुद्दा दर्ता गराएको थियो । त्यही दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो । कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिट घोलेर खुवाए पनि ५ वर्षीय माइलो छोरा अमृतले भने नराम्रो गन्ध आएको भन्दै खाने कुरा छोडेका थिए । अमृतको पालनपोषण घरतर्फका हजुरबुवा सन्तोष र हजुरआमा गां नेपालीले गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *