संकटा र आर्मीको बराबरी, आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

डिसी नेपाल
२९ पुष २०७६ १७:१२

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाडेको हो । खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो ।

खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए । आर्मीका सुमन लामाले आफ्नो डिबक्स भित्र ह्याण्डबल गरेपछि संकटाले पेनाल्टी पाएको थियो ।

संकटासँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । समान खेलमा समान अंक जोडेको मछिन्द्र फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ । संकटाले ६ खेलमा ८ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *