भाइलाई बचाउन भोकभोकै बसेकी दिदी आफैं कुपोषणका कारण बाँच्न सकिनन्

डिसी नेपाल
१ माघ २०७६ ९:३२

काठमाडौं। भाइको उपचारको लागि खर्च जुटाउन आफैं भोकभोकै बसेर भाइलाई बचाउन प्रयासरत चिनियाँ युवतीले भाइलाई बचाउनन त सकिन् तर आफैं कुपोषणका कारण मृत्युको शिकार भइन् । उनको गरिबी र भाइलाई बचाउन गरेको संघर्षको कथा संचारमाध्यममा आएपछि उनको सहयोगको लागि विश्वव्यापी रुपमा १ मिलियन युआन (१ करोड ६४ लाख नेपाली रुपैयाँ) संकलन भएको थियो । तर यो रकमले पनि उनलाई बचाउन सकेन ।

स्थानीय समाचार साइट दपेपर डट सिएनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार वु हुयान चीनको गुइझोउ प्रान्तको गरिब परिवारमा १९९५ मा जन्मिएकी थिइन् । उनी ४ वर्षकी हुँदा उनकी आमाको मृत्यु भएको थियो । वु आफ्ना पिता र भाइँग बसेकी थिइन् । उनका भाइ वु जियाङलोङ मानसिक स्वास्थ्य समस्याले ग्रस्त थिए र उनलाई नियमित रुपमा उपचार गराइरहनुपर्थ्यो । परिवारको अधिकांश कमाइ उनको अस्पतालको बिल तिर्दैमा सकिन्थ्यो ।

६ वर्षअघि वु १८ वर्षकी हुँदा उनका पिताको पनि मृत्यु भयो । त्यसपछि यी दिदीभाइलाई सरकारको तर्फबाट मासिक ३०० युआन (लगभग ५ हजार नेपाली रुपैयाँ) सहयोग प्राप्त हुन्थ्यो । भाइको जिम्मेवारीका बीच वुले पढाइ छाड्नुपर्यो । यही बीचमा उनले एक व्यवसायिक कलेजमा छात्रवृत्तिमा पढ्न पाइन् । कलेजले उनलाई ७ हजार युआनको छात्रवृत्ति दिएको थियो । पिताको मृत्यु भएपछि यी दिदीभाइ काका–काकीको रंरक्षकत्वमा बस्न थालेका थिए तर उनीहरुको पनि आर्थिक अवथा निकै नाजुक थियो ।

भाइको उपचरको खर्च धान्नै नसक्ने स्थिति आएपछि अन्ततः वुले राम्रोसँग खानै छाडिन् । उनले एक दिनमा मात्रै २ युआनले काम चलाउँथिन् र खुर्सानीसँग भात खाएर गुजारा गर्थिन् । उसको यस्तो खानपानले उनको शरीर कुपोषित हुँदै गयो र अन्ततः गएको अक्टोबरमा उनलाई हिँड्न र सास फेर्न समस्या हुन थाल्यो । उनी स्थानीय अस्पतालमा गइन् जहाँ उनलाई मुटु र मृगौलामा गम्भीर समस्या भएको पत्ता लाग्यो । यी दुवै समस्या कुपोषणका कारण भएको थियो ।

उनीसँग आफ्नै उपचारको लागि पनि पैसा थिएन त्यसैले उनले च्यारिटीमा सहयोग गरिदिन अपिल गरिन् । विश्वभरका धेरै मिडियाहरुले उनको विषयमा समाचार छापे । त्यतिबेला उनको तौल मात्रै २२ किलो बाँकी थियो । उनको अपिलको समाचार विश्वभर फैलिएपछि उनलाई सहयोग आउन थाल्यो र करिब १ मिलियन युआन सहयोग संकलन भयो । त्यतिबेला चोंगकिङ मर्निङ पोस्टलाई दिएको एक अन्तरवार्तामा वुले आफू किन सहयोगका लागि मिडियामा गइन् भन्ने कुरा बताएकी थिइन् ।

‘मेरी हजुरआमा र बाबा उपचारका लागि आफूसँग पैसा नभएकै कारण मर्नुपर्यो’ उनले अन्तरवार्तामा भनेकी थिइन् ‘म त्यो अनुभव गर्न चाहन्न । म गरिबीको कारण मृत्यु पर्खिन चाहन्न ।’ नोभेम्बरमा वुको स्वास्थ्य अवस्था झनै बिग्रियो र उनलाई प्रान्तको राजधानी गुइयांगको एक ठूलो अस्पतालमा रिफर गरियो । तर, त्यहाँका डाक्टरहरुले पनि उनलाई बचाउन सकेनन् र सोमबार उनले २४ वर्षको उमेरमा मृत्युसँगको लडाइ हारिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *