आर्मी एमएम कपको फाईनलमा, प्रदेश–३ बाहिरियो

डिसी नेपाल
१ माघ २०७६ १७:१९

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इनरुवामा बुधबार भएको पहिलो सेमिफाइनलमा प्रदेश–३ लाई ६४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । इनरुवा रंगशालामा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश–३ ले अलआउट हुँदै मात्र १ सय ५२ रन जोड्न सक्यो ।

प्रदेश–३ का सोनु तामाङले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । ७५ बलमा उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यस्तै प्रदेश ३ का इशान पाण्डेले १७ तथा कप्तान सुवास खकुरेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । आर्मीका सुशन भारीले ३ तथा शाहब आलमले २ विकेट लिए ।

यसअघि टस टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १६ रन बनाएको थियो । आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४३ रन जोड्दा कुशल मल्लले ३७ रन बनाए ।

यस्तै रोहित पौडेलले २९ रन बनाउँदा विक्रम सोबले २४ रन बनाए । त्यसबाहेक राजेश पुलामीले १७,भिम सार्कीले १५ र सुशन भारीले १३ रन बनाए ।

प्रदेश–३ का गौतम केसीले ४ विकेट लिए । यस्तै तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डेले समान २–२ विकेट लिए । अब फाइनलमा आर्मीले नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीचको विजेतासँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *