६ महिनाभित्र एनआरएनएको विशेष अधिवेशन गर- डा. पौडेल
काठमाडाैं। गैर आवासीय नेपाली संघ युएसएका पूर्व सभापति डा. केशव पौडेलले एक महिनाभित्र संघको विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन माग गरेका छन् ।
बुधबार एक विज्ञप्ति निकाल्दै डा. पौडेलले गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा सम्पन्न गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा कोषाध्यक्ष र महासचिवको प्रतिवेदन पारित नभएको स्मरण गरे।
“यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसवाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष संचालन गरिरहेको छ ? संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ ?” उनले प्रश्न गरेका छन् ।
उनले अहिलेको निर्वाचन प्रक्रियाले स्वच्छ निर्वाचनको कल्पना गर्न सकिंदैन भन्दै निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नुपर्ने खाँचो रहेको बताए ।
“प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ । एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिंडाउन खोजिएको छ। आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ। यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन। निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ,” डा. पौडेलले आफ्नो वक्तव्यमा भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment