टीआरसीबारे छलफल गर्न बालुवाटारमा देउवा र प्रचण्ड
काठमाडौं। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग (टीआरसी) मा पदाधिकारी नियुक्त गर्ने विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच छलफल भएको छ।
यी दुई आयोगका पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्न बनेको समितिले नेताहरुबीच सहमति नहुँदा पदाधिकारी नियुक्त गर्न नसकेको चर्चा भइरहेका बेला दुई पार्टीबीच छलफल भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन्।
यसअघि यी आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल गर्न दाहाल देउवा निवासमै पुगेका थिए। शुक्रबारको नेताहरुबीचको छलफलमा दुबै आयोगका पदाधिकारीबारे टुंगो लगाउने तयारी भएको छ।
यी आयोग नबन्दा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन राज्य पक्ष तथा विद्रोही पक्षबाट मारिएका र बेपत्ता गरिएका नागरिक, सुरक्षाकर्मी र विद्रोहीबारे छानविन गरी आवश्यक सजाय तथा मेलमिलापका लागि सिफारिस हुन सकेको छैन।
जसको कारणले गर्दा द्वन्द्व पीडितहरुले लगातार आन्दोलन गर्दै आएका छन्। जघन्य तथा मानवता विरोधी अपराधमा सजाय दिनुपर्ने अन्तर्राष्ट्रिय समुदायको चासो पनि यी आयोगबारे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment