नेपालमा यसरी ‘बाल प्रेमविवाह’ किशोरीहरुको लागि श्राप बनिरहेछ

डिसी नेपाल
५ माघ २०७६ ८:२०

काठमाडौं (एएफपी)। किशोरी आशा चर्ती कार्कीले आफ्ना अभिभावकलाई आफू पढ्न जान लागेको बताइन् तर उनी आफ्ना ब्वाइफ्रेण्डसँग भागिन् । आशा नेपालमा सानैमा बिहे गर्नेहरुको बढ्दो संख्यामध्येकी एक किशोरी हुन् । ‘गाउँमा हाम्रो बारेमा हल्ला चलेको थियो र मेरो घरमा यसबारे झगडा भइरहन्थ्यो । मलाई लाग्यो मसँग भाग्ने बाहेक अर्को विकल्प छैन’ पश्चिमी सुर्खेतस्थित आफ्नो घरमा कार्कीले एएफपी समाचार एजेन्सीसँग भनिन् ।

नेपालमा बालविवाहको दर निकै उच्च छ । यद्यपि यहाँ बालविवाह विगत ५० वर्षदेखि प्रतिबन्धित छ र यहाँ विवाह गर्ने कानुनी रुपमा वैध उमेर २० वर्ष हो । नेपालको सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार अहिले २५ देखि ४९ वर्ष उमेर भएका ५० प्रतिशत महिलाहरुले आफ्नो १८ औं जन्मदिनसम्ममा बिहे गरिसकेका थिए । यहाँ परम्परागत रुपमा बिहे अभिभावकले गराइदिन्थे । उनीहरुमध्ये केहीले साँस्कृतिक कारण र केहीले गरिबी कारण देखाउँदै सन्तानलाई विवाहको लागि दबाब दिन्थे ।

अहिले यस्ता विवाहहरु अस्वीकार गरिन लागेको छ तर बाल अधिकारकर्मीहरुले भने ‘प्रेम विवाह’को नाममा कलिला उमेरका जोडीहरु भागिरहेकोतर्फ सचेत गराएका छन् । २०१४ मा बालविवाह रोक्नको लागि कार्यरत एक गैर सरकारी संस्थाको अभियानले गरेको सर्वेक्षणअनुसार कम उमेरका जोडीमध्ये एक तिहाइ आफूखुसी विवाह गरेका जोडीहरु पाइएका थिए र यो क्रम बढिरहेको छ ।

‘यस्तो अभ्यासले हामीलाई र सरकारलाई एउटा चुनौती खडा गरिदिएको छ । हामीले अभिभावकलाई त यसबारे बुझाउन सक्छौं तर आफूखुसी बिहे गर्ने कम उमेरका किशोर किशोरीहरुलाई यस विषयमा बुझाउन निकै कठिन छ’ गर्ल्स नट ब्राइड नेपालका आनन्द तामाङले एएफपीसँग भने ।

‘मेरो भविष्यलाई धोका’

तामाङका अनुसार स्वेच्छिक बाल विवाहले अभिभावकले दबाबपूर्वक गराइदिने बाल विवाहले जस्तै स्कुल छोड्ने, घरेलु हिंसा र स्वास्थ्य समस्याजस्ता जोखिमहरु निम्त्याएकै छन् । ‘यस्तो स्थितिमा स्वेच्छिक रुपमा भागिसकेपछि केटीहरुले आफ्नो परिवारको (माइती) सहयोग गुमाउँछन्’ तामाङले थपे ।

कार्की ती किशोरीमध्येकी एक हुन् जसले कलिलैमा विवाह गरेपछि विद्यालय छाडिन् । त्यसपछि उनले घरका काम र पारिवारिक जिम्मेवारीसँग जुध्न संघर्ष गर्न थालिन् । केही समयपछि नै उनले आफू गर्भवती भएको थाहा पाइन् । ‘म केवल १६ वर्षकी थिएँ र मभित्र के हुँदैछ भनेर बुझ्नको लागि कलिलै थिएँ’ उनले आफ्नी २ वर्षकी छोरीलाई खेलाउँदै भनिन् । उनले भगाडि भनिन् ‘मैले अभिभावकलाई ढाँटेर भागेकी थिएँ तर वास्तवमा मैले म स्वयंलाई र मेरो भविष्यलाई धोका दिँदै थिएँ ।’

कलिलैको गर्भावस्थाले उनलाई आङ खस्ने समस्या भयो । ‘यो निकै पीडादायी छ । म बेलाबेलामा मेरा साथीहरुलाई हेर्छु र कल्पना गर्नु यदि बिहे नगरेको भए म पनि त्यस्तै हुने थिएँ’ उनले थपिन् । नेपाल सरकारले बालविवाह रोक्न यसलाई जेल सजाय र जरिवाना हुने गरी अपराधको श्रेणीमा राखेको छ तर यो अभियान समस्याको जरामै गएर समाधान नगर्दासम्म सफल हुने देखिँदैन ।

‘यो एउटा गल्ती थियो’

केही किशोरीहरु सम्भावित जबरजस्ती विवाहबाट बच्न वा गरिबी र घरको कामबाट बच्न भागेर विवाह गर्छन् । अर्कोतर्फ नेपालको ग्रामीण भेगमा किशोर अवस्थाको प्रेमलाई सामाजिक रुपमा अस्वीकार्य व्यवहारको रुपमा हेरिन्छ । यस्तोमा किशोर अवस्थाका जोडीहरु आफ्नो सम्बन्धलाई वैधता दिन भागेर विवाह गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्छन् । अन्य केही गर्भवती भएपछि यसरी विवाह गर्न बाध्य हुन्छन् ।

यस्ता कम उमेरका प्रेम विवाहहरु सम्बन्धित सरकारी अधिकारीसम्म विरलै पुग्छन् । अभिभावकले अन्तरजातीय विवाह लगायतका अवस्थामा जोडीलाई छुटाउन कुनै कानुनी बाटो खोज्नुपरेमा मात्र यस्ता विवाहहरु सरकारी निकायसम्म पुग्छन् । ‘मुख्य कुरा शिक्षा हो । उनीहरुले आफू यौनिक रुपमा सक्रिय भएकै आधारमा विवाहको लागि योग्य भएको होइन भन्ने कुरा बुझ्नुपर्छ’ महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका कृष्ण प्रसाद भुसालले भने ।

बेलायती च्यारिटी भिएसओ नेपालले संचालन गरिरहेको सिस्टर्स फर सिस्टर्स एजुकेशनमा आबद्ध कार्कीले अब भने आफ्नो अनुभवले अन्य किशोरीहरुलाई सहयोग गर्न सक्ने अपेक्षा राखेकी छिन् । ‘म उनीहरुलाई अहिल्यै विवाह गर्नु हुँदैन भन्छु र मेरो गल्तीबाट पाठ सिक्न अरुलाई पनि बुझाउन भन्छु’ उनले भनिन् । दिदीको भूमिकामा कार्कीले १७ वर्षकी आराधना नेपाललाई आफ्नो अपमानजनक विवाह त्याग्न र स्कुल फर्किन राजी बनाइन् ।

आराधनाले १३ वर्षकी हुँदा आफूले राम्रोसँग चिन्दा पनि नचिनेका किशोरसँग भागेर विवाह गरेकी थिइन् । उनीहका बारेमा गाउँघरमा नराम्रो कुरा चल्न थालेको थियो र उनलाई आफ्नो इज्जत बचाउन के गर्ने भन्ने थाहा थिएन । विवाह गरिसकेपछि मात्र उनलाई थाहा भयो उनका पति हिंस्रक र लागूऔषधका दुर्व्यसनी थिए । उनले पतिको चंगुलबाट भाग्नुभन्दा पहिले महिनौंसम्म हिंसा कुटपिट सहेकी थिइन् । उनले सम्झिइन् ‘यो एउटा गल्ती थियो । त्यो बिहे त्याग्नाले मेरो जीवन बच्यो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *