‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

डिसी नेपाल
८ माघ २०७६ १२:२२

नेपालगञ्ज । यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन्।

बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ।

यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् ।

स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन्।

औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् ।

भेरी अस्पतालका डा. खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे ।

आधारभूत स्वास्थ्य केन्द्र स्थापना

खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताए ।

मन्दिर स्थापना

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा माता सरस्वतीको मूर्तिसहित मन्दिर स्थापना गरिएको छ ।

नवनिर्मित मन्दिरको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले आज उदघाटन गरे ।

नेपालगञ्जका उद्योगपति राजेशनारायण श्रेष्ठ र उनकी धर्मपत्नी अञ्जिता श्रेष्ठले आफ्ना हजुरबुबा स्व हरिबहादुर श्रेष्ठ र हजुरआमा स्व हीरादेवी श्रेष्ठको स्मृतिमा सरस्वती माताको मूर्ति प्राण प्रतिष्ठासहित स्थापना गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *