राष्ट्रियसभा निर्वाचन: १० बजेदेखि मतदान सुरु हुँदै

डिसी नेपाल
९ माघ २०७६ ७:५४

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ ।

कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसकेको आयोगले जनाएको छ।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको छ।

यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् ।

निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *