नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीबाट माथि उक्लिन सफल

डिसी नेपाल
९ माघ २०७६ १३:१७

काठमाडौं। केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणीबाट माथि उक्लिन सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको हो।

सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औं स्थानमा थियो। सन् २०१९ मा ३ अंक बढी प्राप्त गरी ३४ अंक पुगेपनि सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुमा २० औं स्थानमा परेको छ। १ सय ८० देश मध्ये ९ अंक प्राप्त गरी सोमालिया सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित भएको छ।

त्यसैगरी ८९ अंक प्राप्त गरी डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ। भ्रष्टाचार अवधारणा सूचकांङ्कमा १ सय अंकले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउँछ।

खासगरी नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचारमा न्यून रुपमा नै भएपनि सुधार आएको रिपोर्टले देखाएको छ। अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले जनशक्ति भर्ना गर्दा हुने आर्थिक अभियमिततालाई कम गर्न आन्तरिक रुपमा गरिएको कारवाही, भ्रष्टाचार भएको रकम असुली लगायत कार्यहरु भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा सकारात्मक कदम भएको निष्कर्ष निकाल्न सकिने बताए।

स्थानीय तहमा हुने खर्चमा पारदर्शीता नदेखिएपनि सेवाग्राहीले पाएको सेवालाई आधार बनाउदा तत्काल त्यसको प्रभाव नदेखिएको उनले बताए।

रिपोर्ट सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपात रहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, निर्णय प्रक्रियामा सरोकारवालाहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ।

सिपीआई रिपोर्टले विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ। पैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकहरुमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *