रोहितको अर्धसतकमा मलेसिया–११ माथि क्यान–११को सहज जित

डिसी नेपाल
९ माघ २०७६ १६:०८

काठमाडौँ । तेस्रो एकदिवसीय मैत्रीपूर्ण खेलमा क्यान–११ ले मलेसिया–११ लाई ५ विकेटले पराजित गरेको छ । पोखरा रंगशालामा मलेसियाले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको क्यान–११ ले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

क्यान–११ को जितमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । ४ छक्का र ८ चौका प्रहार गरेका उनले ८१ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा लोकेश बमले २६ रन बनाए । मलेसियाका विजय उनिले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर मात्र १ सय ५७ रन बनाएको थियो । उसका भुसन सेभले सर्वाधिक ३० रन बनाए । यस्तै सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न क्यानका अविनास बोहराले ३ विकेट लिए । यस्तै ललित राजबंशी र कुशल मल्लले समान २÷२ विकेट हात पार्दा किशोर महतो र कमल सिंह ऐरीले समान १÷१ विकेट लिए ।

यस अघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान–११ ले १ सय ३४ रनको जित निकालेको थियो । यस्तै दोस्रो खेलमा समेत क्यान–११ ले १ सय ७० रनको फराकिलो जित हात पारेको थियो ।

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिज अघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *