हेल्प नेपाल फाईनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

डिसी नेपाल
९ माघ २०७६ १७:५९

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।

राष्ट्रिय टिमका खेलाडीले भरिएको पुलिसमाथि हेल्पले २५–२१, २५–१७ र २५–१५ को सेटमा जित निकाल्यो । तीन भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले पुलिसलाई सबै सेटमा सहजै पराजित गर्यो ।

अब हेल्पले उपाधिको लागि अर्को विभागीय टिम एपीएफ क्लबसँग शुक्रबार खेल्नेछ । बिहिबार नै भएको पहिलो सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ ।

राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मीमाथि एपीएफले २५–२२, २५–२२ र २६–२४ को सेटमा जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब भिड्ने छन् ।

दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–० को सेटमा जित निकाल्दै न्यू डायमण्डले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । यस अघि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५÷२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०÷१० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *