टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’

डिसी नेपाल
११ माघ २०७६ ८:१५

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ।

‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो।

नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो।

आठ सरकारी विद्यालयमा हाल चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी झण्डै ४० हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख विनियोजन गरिएको बताउँछन् ।

“दैनिक रु २५ बराबरको खाजा वितरण गर्न बोलपत्र आह्वान भएको छ, फागुनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौं”, उनी भन्छन् ।

बजेट अपुग भए थप्दै लैजाने गौतमको भनाइ थियो। नगरपालिकामा हाल आठ सामुदायिक, ८१ निजी, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय छन्। टोखाले प्रत्येक वैकल्पिक विद्यालय बराबर रु सात लाख २० हजार आर्थिक सहयोग गर्दै आएको छ।

नगरप्रमुख प्रकाश अधिकारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउँछन् ।

“पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो”, उनी भन्छन् ।

नगरपालिकाका ११ मध्ये ५, ६, ९ र ११ नम्बर वडामा सामुदायिक विद्यालय छैनन् । सबै वडामा सामुदायिक विद्यालय बनाउने उद्देश्यले ‘एक वडा, एक सामुदायिक विद्यालय’ को अवधारणा नगरपालिकाले अगाडि सारेको छ।

नगरसभाको बैठकबाट संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्न सकिने गरी ऐन संशोधन गरिएको छ। सो संशोधनले अब निजी विद्यालय सामुदायिक विद्यालयमा रुपान्तरण हुन चाहेमा ढोका खुलेको छ।

शिक्षा शाखा प्रमुख गौतम सबै वडामा सामुदायिक विद्यालय स्थापना गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउँछन् ।

“आगामी दिनमा निजी विद्यालय बन्द भयो भने सामुदायिकमा विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्छ, त्यसका लागि पनि सामुदायिक विद्यालय आवश्यक छ”, गौतम भन्छन् ।

नगरपालिकाले हरेक वर्ष नगरभित्रका कक्षा ८, १० र १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिरहेको छ।

अभिभावकलाई लक्षित गरी घरमा हुने लैङ्गिक हिंसा र विद्यार्थीको गुणस्तरीय शिक्षासम्बन्धी दुईवटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

महिलाको शिक्षालाई ध्यानमा राखेर नगरपालिकाभित्र छुट्टै महिला वैकल्पिक विद्यालय चलाइएको छ ।

नयाँ बसपार्कमा निर्माण गरिएको चेतना महिला विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत छन्। उक्त विद्यालयको शिक्षाको विकासका लागि टोखा नगरपालिकाले सहयोग गरेको छ।

सामुदायिकमध्ये सरस्वती, बौडेश्वर, मनोहर र तिलिङ्गाटार माविले दश जोड दुई कक्षा चलाएका छन्।

सामुदायिकमा अध्ययनरत विद्यार्थीलाई एसइई परीक्षामा गुणस्तरीय नतिजा ल्याउन ‘कोचिङ’ तथा ‘काउन्सीलिङ’ कार्यक्रम चलाइएको छ। त्यसका लागि नगरपालिकाले एक विद्यालय बराबर रु ५० हजार विनियोजन गरेको छ।

नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकलाई शैक्षिक भ्रमण गराइएको छ।

टोखाभित्रको शिक्षालाई समावेश गरेर ‘टोखा शैक्षिक दर्पण’ प्रकाशन गर्न लागिएको शिक्षा शाखाका अधिकृत विजया भट्टराईले जानकारी दिए।

अपुग शिक्षक पदपूर्ति गर्न नगरपालिकाले चण्डेश्वरी, धापासी, जालपा र सरस्वती माविमा एक/  एक दरबन्दी थपेको छ ।

उक्त दरबन्दीका लागि नगरपालिकाले चालु आवमा रु १६ लाख रकम विनियोजन गरेको छ । केन्द्रले शिक्षक नियुक्ति गर्ने परिपाटी राम्रो नभएको प्रमुख शिक्षा अधिकृत गौतम बताउँछन् ।

असहाय, अपाङ्गता र आर्थिकरुपले विपन्न विद्यार्थीलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने भएको छ।

त्यसका लागि नगरपालिकाले टोखा–९ मा रहेको स्कोलास्टिक नेशनल एकेडेमी र टोखा–३ को नितेन मेमोरियल स्कूललाई वार्षिक रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको छ।

कम शुल्कमा काम गरिरहेका सामुदायिक विद्यालयका कार्यालय सहयोगी र तल्लो दर्जाका २४ कर्मचारीका लागि वार्षिक रु ५० हजार बराबर प्रोत्साहन अनुदान विनियोजन नगरपालिकाले गरेको छ।

त्यसले गर्दा ती कर्मचारीलाई सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक रकम बराबर हुन पुग्छ।

नगरपालिकाभित्रका सबै विद्यालयमा समान शिक्षा प्रदान गर्न टोखाले स्थानीय शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रमको कामलाई अगाडि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *