ग्रीनकार्ड र सम्पत्तिका लागि विवाह

नेपालीको बदलिँदो बैवाहिक सम्बन्ध

एउटी मित्रले काठमाडौंबाट मेरो मुहार पुस्तिकामा लेखिन्, ‘युट्युबमा हेर्नु न अमेरिकाबाट आएकी एउटी राम्री महिलाले घिनलाग्दो जोगीसँग बिहे गरिन्, तपाई चिनेको हो? कोहीको भनाइ छ पैसाको कारोवार रे !’ के रहेछ त भनी हेर्ने क्रममा उनको सहित अरु १०÷१२ वटा भिडियो र समाचार हेर्न पुगेछु ।

युवा पिँढीको अमेरिका, अष्टे«लिया र युरोपको मोह बढेको देखियो । पढाइ राम्रो हुनेका लागि विद्यार्थी भएर जान सजिलो रहेछ । तर, राम्रो नहुनेका लागि सजिलो बाटो ती देशमा नागरिक भएकाहरु रहेछन् । यसमा महिलाका बढी उदाहरण भएपनि केही पुरुषहरु पनि विदेशी नै वा विदेशमा बस्ने नेपाली महिलासँग विवाह गरी बसाइ सरेका छन् ।

नेपाली कानूनले विवाह गर्दा महिला पुरुषको उमेर वीस वर्षभन्दा फरक हुनु हुँदैन भनेको छ । तर, विवाहका घटनामा नेपाली पुरुषले समेत आफूभन्दा २०÷२५ वर्ष जेठीसँग गरेको पनि थाहा भयो । महिलाले त ३०÷३५ वर्ष जेठासँग पनि विदेश जानकै लागि विवाह गरेका छन् । एकजना पुरुषले अमेरिकाबाट नेपाल गई चौथो विवाहसम्म गरेको स्वीकारेका छन् ।

कतिपयका लागि ‘यस्तो विवाह त महिलालाई अमेरिका पु¥याइदिने पैसा र जग्गाको कारोबार हो ।’ पहिला नै सन्तान भइसकेकी महिलासँग विवाह गरेर अमेरिका ल्याउँदा भोगेका समस्याहरु विभिन्न देखिन्छन् । ‘बिहे गरी त ल्याएँ फुट्टी अंग्रेजी नजान्ने, भनेको नमान्ने, उसका छोराछोरी चाँडै ल्याइदिनु भनी हैरान गरी अनि पारपाचुके गर्नुपर्यो । केही नेपालीले अंश माग्नु भनेर उक्साइ दिएछन् । मसँग भए पो दिनू ? वैवाहिक ग्रीनकार्ड चाहीँ लालमोहर भन्दा पक्का हुँदोरैछ ।’

त्यसो त नेपालबाट विवाह गरी अमेरिका ल्याएका केही महिलाले ग्रीनकार्ड बनेपछि पारपाचुके गरी सम्पत्ति माग्ने र आफ्नो सुर गर्ने गरेका घटना पनि थाहा भयो । यहाँसम्म कि आफू अमेरिका बसेर नेपालमा बसेकी सासुसँग अंश लिएको पनि थाहा भयो ।

कानुनी वाध्यतामा पारेर अमेरिकामै डलर लिने पनि भेटिए । विवाह गरी १०÷१२ वर्षमा कुरा मिलेन भने पारपाचुके गर्नु आश्चर्य होइन । तर सम्पत्ति र ग्रीनकार्डका लागि पुरुषलाई फसाउनु अनैतिक हो । अर्कालाई दुःख दिएर लिएको सम्पत्तिले त्यस्ता महिलालाई सुख शान्ति दिन सक्ला नसक्ला यो आफैमा प्रश्न छ ।

जन्म दिने बाबुले २५÷३० वर्ष हुर्काएकी छोरीलाई लिंगका आधारमा विभेद गरी अंश दिन नसक्ने नामर्द बाबुहरु बिहेका नाममा एक वर्षमात्र सँगै बसेका पुरुषबाट छोरीलाई अंश लिन लगाउँदा पुरुष वर्गकै पुरुषत्व उच्च भएको र महिलालाई निम्न मगन्ते दर्जामा झारेको छ ।

मेरी एउटी अमेरिकी साथीले केही महिनाअगाडि श्रीमानलाई अंश दिएर पारपाचुके गरिन् । उनी गर्वले भन्छिन्,‘मैले उसलाई पन्छाएँ ।’ यसो गर्ने नेपाली महिला पनि छन् वास्तवमा, तर समाचारमा नआएका ।

नेपालमा विवाह प्रथालाई कानूनले बाँध्न थालेको १६६ वर्ष भएछ । जंगबहादुरका पालामा सम्बत १८१० मा मुलुकी ऐन लेखिँदा विहावारीको महल पनि समावेश छ । त्यही ऐनलाई परिमार्जित गरी राजा महेन्द्रले चैत २०१८ सालमा लालमोहर सदर गरेको देखिन्छ । विभिन्न जातजातिका कुल धर्मअनुसार चलिआएका विवाहका विविधतालाई पनि मान्यता दिएको देखिन्छ ।

यतिसम्म कि सुदूरपश्चिममा चल्ने चोरी विवाह र केही जातमा चल्ने फूपुचेला, मामाचेलीबीचको विवाह पनि कानूनी देखिन्छ । ठकुरीमा पनि चल्ने यस्तो विवाहको प्रमाण राजाहरु र राजपरिवारबाट प्रष्ट हुन्छ । राणाहरुले शाहसँगको विवाह प्रथा चलाउँदा मामाफूपुका चेला चेलीको विवाह हुने अवस्था रहेको छ एकातिर भने अर्कातिर बाहुन र अरु क्षेत्रीमा यस्तो सम्बन्ध रहे हाडनाता करणी भयो । नेपालको कानून दैवले जानून् ।

डोला विवाह याने नाबालक केटी ल्याएर केटाका घरमा हुर्काएर गर्ने विवाह राष्ट्रपिता त्रिभुवनकै भएको भनी इतिहासमा उल्लेख छ । उमेरको अनमेल विवाह चाहिँ छोरा प्राप्तिको बहानामा अधवैशें पुरुषले बालिकाहरुसँग गरेका थुप्रै उदाहरण मैले आफैले देखेकी छु ।

संयुक्त राष्ट्र संघले २०३२ साललाई अन्तर्राष्ट्रिय नारी वर्ष घोषणा मात्र गरेन, त्यो दशकै मनाउन प्रस्ताव गरेपछि नेपालमा पनि महिलासम्बन्धी कानूनमा सुधार गर्दा विहावारीको महल संशोधन गरी वाल विवाहको अन्त्य भने पनि संरक्षकको मञ्जुरीमा विवाहको उमेर १६ वर्ष र मञ्जुरी नभए १८ वर्ष लेखियो ।

दस्तावेजमा २० वर्षभन्दा फरक उमेरको विवाह अनमेल भनी गैरकानूनी भयो । २०४७ सालको राजनैतिक परिवर्तनपछिको मुलुकी ऐन संशोधनमा केटीको उमेर संरक्षकको मञ्जुरीमा १८ र आफैं गर्दा २० वर्ष भयो । अहिले सरकारले २०७४ सालमा ऐन पारित गरी भाद्र १ देखि लागू हुने गरी केटा र केटी दुवैको विवाहको उमेर २० पुर्याएको छ ।

परम्परागत विवाहलाई खास उल्लेख गरेको देखिँदैन । विवाह दर्ता नगरेको विवाह रद्द पनि हुन सक्ने अवस्था छ । त्यसमा पनि विदेशीसँग विवाह गर्दा दर्ता गर्नु अनिवार्य छ । उमेर नपुगी याने २० वर्ष अगाडि गरिएको बिहे रद्द हुनेमात्र होइन् संरक्षक पुरेत तथा लमीलाई जेल र जरिवाना दुबै तोकेको छ ।

दर्ता नगरेको विवाहले कानूनी मान्यता पाउदैन । विवाह गरी केटाले उमेर थाहा नपाएर विवाह गरेको रहेछ भने उतापट्टिकालाई कारवाही हुँदैन । तर त्यस्तो विवाह भने रद्द हुन्छ । उमेर पुगेकोको पनि आफ्नो संस्कार अनुसार विवाहको कुरा छिनेर पनि एउटा पक्ष विवाह नगर्ने अवस्थामा पुगे विवाह गर्ने कर हुँदैन।

विवाहको उमेर २० वर्ष बनाए पनि १३, १४ वर्षका किशोरीहरु बच्चा पाउन थालेका छन् । ६ वर्षदेखिका नानीहरु बलात्कृत भएका समाचार छापामा आएका छन् । तिनको यौन शोषण गर्ने हिंस्रक पुरुषहरुलाई कारवाही भएको समाचार कमै आएका छन् ।

कानूनले उल्लेख गरोस् नगरोस विवाह मानव सृष्टिदेखि नै शुरु भएको हो । वर्णाश्रम धर्मअनुसार गधा पच्चीसी नाघेर मात्र विवाह गर्नु भन्ने उल्लेख छ । पच्चीस वर्षसम्म पढ्ने, अध्ययन गर्ने निर्देशन छ । यो खासगरी पुरुषलाई लक्ष्य गरेको भनौं भने मैत्रेयी, गार्गीजस्ता वेदका ऋचा रच्ने विदूषी त्यसै भएनन् होला ।

अथर्व वेदले उल्लेख गरेअनुसार विवाहको पहिलो उद्देश्य आफूहरु जस्ता सन्तान उत्पादन गरी जनसंख्या वृद्धि गर्नु हो । हिन्दू धर्मशास्त्रहरुमा वैदिक कालदेखि नै ‘गान्धर्व’ र ‘स्वयंवर’ विवाह पद्धति उल्लेख गरेको पाइन्छ ।

परापूर्वकी पार्वती , महाभारतकी द्रौपदी र रामायणकी सीताले बुझ्ने भएर विवाह गरेका थिए । ऐतिहासिक कालमा पनि वाल विवाह त्यति उल्लेख देखिदैन । राजकुमारी भृकुटीले आफै बाबुलाई भनिन्,‘म भोटेराजासँग विवाह गरी आफ्नो राष्ट्र जोगाउँछु ।’ उनी पक्कै पनि वयस्क थिइन् ।

हाम्रा सामाजिक प्रचलनमा रजश्वला नभै कन्यादान दिने र श्रीमान मरेपछि सती जाने प्रथा केही काल रहे कलंकका रुपमा । छिमेकी भारतमा मुसलमान र अंग्रेजको आक्रामक शासन चलेकाले पनि नेपालमा पुरातनवादी ब्राह्मणहरुले आफ्नो महिलाको सतित्व रक्षाका लागि उनीहरुले ठहराएको तरिका थियो ।

आजको परिवर्तित संसारको समाजमा नेपाली समाज पनि अंग्र पंक्तिमा रहेको देखिन्छ । विवाह केवल महिला र पुरुषवीच मात्र रहेको देखिँदैन । समलिंगी महिला र पुरुषहरुबीच पनि विवाह भएका छन् । समाजका सदस्यहरुले जेजस्तो अवस्थाको माग गर्दैछन् त्यो पूरा गर्नु वा कमसेकम त्यसमा बन्देज नलगाउनु राज्यको दायित्व हुनुपर्दछ । तर, मुलुकी ऐनको आज नेपाली समाजमा चलेका कतिपय प्रचलनबारे कल्पनासम्म पनि गरेको छैन ।

पुरुषको वहुविवाहलाई स्वभाविक भन्ने समाजले महिलाको वहुविवाहलाई आज पनि सजिलैसँग पचाउन सकिराखेको छैन । राणा शासकहरुका धेरै श्रीमती र भित्रिनीहरु हुने गर्दथे र तत्कालीन अन्य पुरुषहरु छोरा नभएका निहुँमा बहुविवाह गर्दथे । तीनपल्ट विवाह गर्न वाध्य भएकी विधवा बाहुनी योगमायाले धर्मराज्य याने महिलाको पनि समान हक चाहियो भनी राणा शासकसँग गुहार माग्दा ‘यो तीन पोइले’ लाई मार भन्ने समेत उर्दी त्यतिबेला केही पुरुषले सुनेको चर्चा मेरा पिताजी गर्नुहुन्थ्यो । आखिरमा झण्डै साठी जना अनुयायी साथ लिएर तमोर नदीमा हाम फाली जलसमाधिमा जान वाध्य भइन् ।

नेपालमा यतिबेला व्यक्ति समाजभन्दा अघि, समाज राज्यभन्दा अघि दगुरेका बेला ‘लिमिङ टुगेदर’ (विवाह पहिला सँगै बस्ने चलन) अमेरिकाजस्तै नेपालमा पनि चलेको छ । व्यक्तिको स्वतन्त्रताको हकलाई मान्यता दिने उदारवादी नेपालीहरु र अनुदारवादी पाखण्डी सरकारी संयन्त्रबीचको खाडल झन फराकिलो हुँदै गरेको अनुभूति गरेँ मैले यो लेख्ने क्रमको छोटो अनुसन्धानमा । संयुक्त राष्ट्रसंघमा नेपालको पहिलो राजदूत तथा परराष्ट्रमन्त्री ऋषिकेश शाह सत्तरीको दशकमा भन्नुहुन्थ्यो, ‘नेपालमा घोडाले बग्गी तान्दैन, बग्गीले घोडा तान्दछ ।’ यतिबेला यो भनाइ झन चरितार्थ भएको छ ।

(लेखिका नेपालकी पूर्वमन्त्री हुन् र हाल अमेरिकाको भर्जिनियामा बस्छिन्)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position