सभामुख निर्वाचित हुनुभन्दा केही घण्टाअघि अग्नी सापकोटाविरुद्धको रिटको सर्वोच्चमा पेशी

डिसी नेपाल
१२ माघ २०७६ ११:३२

काठमाडौं। सभामुख बन्ने लगभग निश्चित भएका नेकपा नेता अग्नी सापकोटालाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभन्दा केही घण्टा अगाडि मात्रै सर्वोच्चमा उनलाई सभामुख नबनाउन माग गर्दै परेको रिट पेशीमा परेको छ । सापकोटालाई सभामुख बनाउने प्रकृया रोक्न आदेश माग्दै परेको रिट आजै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

शुक्रबार दायर भएको उक्त रिटमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आदेश दिन माग गरिएको छ । उनीमाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिएका हुन् । रिट आज न्यायाधीश फुयाँलको इजलासको पहिलो पेशीमा छ ।

आज पेशी सूचीमा परेको यो मुद्दा सम्भवतः न्यायाधीश हरि फुयाँलले हेर्न नकिल्ने हुन सक्छ । पहिले अधिवक्ता रहेका न्यायाधीश फुयाँलले त्यतिबेला एक मुद्दामा अग्नी सापकोटाको पक्षबाट बहस गरेका थिए । त्यो मुद्दा अझैसम्म विचाराधीन छ । यही कारण आजको पेशीमा यो रिट उनले हेर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ । यदि सर्वोच्चले उनले यो रिट हेर्न नमिल्ने ठहर गरेमा अर्को न्यायाधीशको इजलासमा सार्ने वा पछिलाई सार्ने निर्णय गर्न सक्छ । अर्को न्यायाधीशको इजलासमा सार्ने वा पछि सार्ने भन्ने निर्णय प्रधानन्यायाधीशले गर्नेछन् ।

पहिले न्यायाधीश फुयाँलले सापकोटाको पक्षमा बहस गरेको रिट र अहिलेको रिट फरक फरक व्यक्तिले हालेको भए पनि दुवै रिटमा सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ । एउटै माग भएकोले पहिले मागका विपक्षमा बहस गरिसकेका फुयाँलले त्यही माग भएको अर्को रिटमा न्यायसम्पादन गर्न नकिल्ने कतिपय कानुन व्यवसायीको तर्क छ । आज ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *