दानाबारी–राजदुवाली सडक कालोपत्रको शिलान्यास

डिसी नेपाल
१३ माघ २०७६ १२:४९

पशुपतिनगर । छ दशक अघि यातायात चल्न शुरु गरेको झापादेखि इलाम जोड्ने दानाबारी (सुखानी) –राजदुवाली (इलाम) सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका छन्।

विसं २०१७ मा इलामका तत्कालीन बडा हाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको बाटो विभिन्न कारणबाट ओझेलमा परेको थियो।

प्रदेश सरकारको पहलमा सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका हुन् । स्थानीय व्यवसायी सावित्रा ढकाल कालोपत्र सडक निर्माणपछि दानाबारी क्षेत्रले विकासमा फडर्को मार्ने आशा रहेको बताउँछन् ।

हिम्ङुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रालि धापासी काठमाडौँले रु ४५ करोड ४७ लाख १५ हजार ८१९ मा सडक निर्माणको ठेक्का पाएको छ।

आगामी २०७९ असार मसान्तमा सम्पन्न गर्ने गरी सडक कालोपत्रको सम्झौता गरिएको छ।

सात मिटर चौडा रहने कालोपत्र पहिलो चरणमा सुखानीदेखि लोदिया बगैचासेरोसम्म १४ दशमलव सात किलोमिटर सम्पन्न गरिने भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव राजेश घिमिरेले जानकारी दिए ।

सडकको आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेपछि स्थानीयको मुहारमा खुशी छाएको हो।

मन्त्री आङ्बोले विगतमा भएका राजनितिक अस्थिरताको शिकारमा परेको सडक आगामी ३० महिनामा सम्पन्न हुने बताए ।

प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा रमणले गुणस्तरीय सडक निर्माणका लागि स्थानीय बासिन्दा जागरुक हुनुपर्ने धारणा राखे ।

त्यसैगरी सो क्षेत्रबाट प्रदेशसभामा विजयी सदस्य काजीमान कागतेले जनताको आवश्यकता र वर्षौदेखि भोगेको सास्तीलाई बुझेर सडक कालोपत्र माग गरेको बताए ।

उनले प्रदेशसभाको चुनाव ताका गरेको प्रतिबद्धता पूरा भएकामा खुशी व्यक्त गरे ।

नगर प्रमुख दीपककुमार थेवेले इलाम र झापा जोडने यो सडक मेरुदण्ड भएको बताए । बर्खाको समयमा हुने सास्तीबाट नगरवासी मुक्त हुने भन्दै उहाँले खुशी व्यक्त गरे ।

सडक कालोपत्र भएपछि इलामबाट झापा झर्नेका लागि सहज हुनेछ । सो बाटो हुँदै इलाम सदरमुकामबाट झापाको विर्तामोड पुग्न करिब ५३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *