कश्मीर विवादमा नेपालले भारत र पाकिस्तानबीच मध्यस्थता गर्न लागेको हो?

डिसी नेपाल
१३ माघ २०७६ १६:३९

काठमाडौं। भारत प्रशाशित जम्मु र कश्मीरबाट भारत सरकारले धारा ३७० हटाएपछि बढेको विवादमा नेपालले मध्यस्थता गरेर समस्या सुल्झाउन सहयोग गर्ने प्रस्ताव दिएको भारतीय पक्षले दावी गरेको छ। २ दिनअघि भारतीय पत्रकारहरुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटेको थियो। यही भेटका क्रममा नेपालले भारतीय पत्रकारहरुसँग यस्तो प्रस्ताव गरेको समाचार टाइम्स अफ इण्डियाले छापेको छ। भारतीय पत्रकारको टोलीमा टाइम्स अफ इण्डियाका पत्रकार पनि सहभागी थिए।

यद्यपि समाचारमा नेपालको तर्फबाट कसले यस्तो अफर दिए भन्ने खुलाइएको छैन। समाचारमा नेपालतर्फको स्रोतको हवाला दिँदै लेखिएको छ ‘भारत र पाकिस्तानबीचको विवादमा नेपाल मध्यस्थता गर्न चाहन्छ ताकि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को औचित्य समाप्त नहोस्।’ जम्मु कश्मिरबाट धारा ३७० हटाइएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध निकै खराब स्थितिमा छ। भारतको फैसलापछि पाकिस्तानले भारतसँगका कूटनैतिक सम्बन्ध नै समाप्त गरेको छ।

तर नेपालले भने त्यस्तो औपचारिक प्रस्ताव नगरिएको जनाएको छ। उच्च परराष्ट्र स्रोतले डिसी नेपालसँग भन्यो, ‘सार्कको अध्यक्ष भएको हैसियतले दुई छिमेकी मिलुन भन्ने नेपालको सद्भाव हो, मध्यस्थता गर्ने कुनै पनि कुटनीतिक पहल भएको छैन।’

स्रोतले पराराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पत्रकारहरुबीच भएको अन्तक्र्रियामा सार्कको सक्रियाता बढाउने विषयमा कुरा भएको बतयो। त्यहि सन्दर्भलाई भारतीय सञ्चार माध्यमहरुले मध्यस्थताका रुपमा विश्लेषण गरेको हुन सक्ने स्रोतको दावी छ।

नेपाल हाल सार्क राष्ट्रको अध्यक्ष छ। भारत र पाकिस्तानबीच सम्बन्ध खराब भएकाले पाकिस्तानमा हुने भनिएको सार्कको शिखर सम्मेलन विगत ६ वर्षदेखि हुन सकेको छैन। नेपालमा २०१४ मा सार्कको शिखर सम्मेलन भएको थियो। त्यसपछि २०१६ मा पाकिस्तानमा हुनुपर्ने यस्तो सम्मेलन पाकिस्तानले २०१८ मा इस्लामावादमा गर्ने तयारी गरेको थियो। तर, अन्तिममा भारतले सहभागिता नजनाउने बताएपछि स्थगित भएको थियो। त्यसयता सार्क निष्क्रिय जस्तै छ। भारत र पाकिस्तानबीच कश्मीरका कारण झन विवाद बढेको छ।

तर भारतीय सञ्चार माध्यमहरुले भने नेपालले मध्यस्थता गर्ने प्रस्ताव गरेको दावी गरेका छन्। भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारमा नेपाल सूत्रको हवाला दिँदै लेखिएको छ, ‘दुई देशबीच मतभेद र विरोधाभाष हुन सक्छन् तर तिनीहरुलाई छलफलबाट सुल्झाउन सकिन्छ। यदि आवश्यक परेमा नेपाल मध्यस्थताको लागि तयार छ किनकि नेपाल एक स्वतन्त्र, तटस्थ र शान्तिप्रिय देश हो।’ भारतीय पत्रकारहरुसँगको कुराकानीमा सूत्रले भन्यो ‘हामी एक माध्यम हुन सक्छौं तर दुई देशबीच सिधा कुरा भएमा नै राम्रो हुन्छ।’

दक्षिण एशियाली देशहरुको प्रमुख संगठन सार्कका विषयमा चिन्ता जनाउँदै सूत्रले भन्यो ‘८ सदस्यीय संगठनलाई फेरि बलियो बनाउनुपर्छ र कुनै पनि किसिमका असमझदारीलाई हटाउनुपर्छ। सार्क समाप्त भएको छैन। यो जीवित छ। कुरा केवल यत्ति हो कि हामी लामो समयदेखि भेटेका छैनौं।’ सार्कको पछिल्लो शिखर सम्मेलन २०१४ मा काठमाडौंमा भएको थियो। २०१६ को सार्क शिखर सम्मेलन इस्लामाबादमा हुनुपर्ने थियो तर उडीमा आतंकवादी आक्रमण भएको भन्दै भारतले सहभागी हुन अस्वीकार गरेको थियो। भारतले सहभागी हुन नमानेपछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि सहभागी नहुने निर्णय गरेका थिए।

२०१६ मा शिखर सम्मेलन स्थगित भएपछि नेपाल अहिलेसम्म सार्कको अध्यक्ष राष्ट्र हो। शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्न तयार भएको बताएका थिए। नेपाल स्रोतले भन्यो ‘सार्क र आतंकवादको कुनै सम्बन्ध छैन। हामी आतंकवादको हरेक रुपको आलोचना गर्छौं तर सार्कको आतंकवादसँग कुनै लिनुदिनु छैन।’

भारतसँगको सीमा विवादको विषयमा नेपालले भन्यो ‘दुवै देश सत्य, सबुत र तथ्यको आधारमा कुनै पनि विषयमा चर्चा गर्न सक्छन्।’ भारतले नयाँ केन्द्र शासित प्रदेशको गठनपछि जारी गरेको आफ्नो नक्सामा नेपालका केही भूभाग भारतमा देखाइएपछि नेपालले आपत्ति जनाएको थियो। अर्कोतर्फ नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी)मा नेपालीभाषी भारतीयहरुलाई बाहिर गरिएको बारे नेपालले भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आफूलाई नेपालीभाषीमाथि कानूनको असर नहुने भनी आश्वस्त पारेको बताएका थिए।




प्रतिक्रिया

One thought on “कश्मीर विवादमा नेपालले भारत र पाकिस्तानबीच मध्यस्थता गर्न लागेको हो?

  1. News pani k k sunna parxa afno desh ko kalapani ra lipuleko ko madhyastata kasle garidinxa aru deshko madhyasta garne re samachar sunda pani haso lagne haha..

Leave a Reply

Your email address will not be published. Required fields are marked *