थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन

डिसी नेपाल
१५ माघ २०७६ ७:०६

रुपन्देही । बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ।

जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन गर्यो ।

उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिए।

अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएकाले सुधार गरेर मात्रै सम्बन्धित निकायको रोहबरमा कारोबार सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।

अनुगमनका क्रममा इण्डष्ट्रिजका सञ्चालक कृष्णबहादुर थापाले उद्योगमा भएका कमजोरी तत्काल सच्याएर गुणस्तरीय खाद्यान्न बिक्री गर्ने प्रतिबद्धता जनाए ।

बजारमा प्लास्टिकको चामल भित्रिएको गुनासो आएपछि प्रशासनले खाद्य उद्योग र पसलहरुलाई लक्षित गरेर बजार अनुगमन थालेको हो।

अनुगमनमा जिप्रका रुपन्देहीका अधिकृत पोखरेल, वाणिज्य कार्यालयका नारायण पन्थी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका पद्मराज भुसाल, बुटवल उपमहानगरपालिका कार्यालयका टोपलाल शर्मा, नेपाल प्रहरीका प्रकाश चौहान तथा पत्रकारहरुको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *