नेकपा बैठकः पहिलो दिनमै गुटको तरंग

डिसी नेपाल
१५ माघ २०७६ २०:५४

काठमाडौं। सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी) को केन्द्रीय कमिटी बैठक बुधबार काठमाडौंमा शुरु भयो। आगामी १९ गतेसम्म चल्ने बैठकको पहिला दिन नै बुधबार नेकपा भित्र संस्थागत हुँदै गएको आन्तरिक गुटको तरंग देखियो।

बैठकको एजेण्डामा भारतीय नक्शा, एमसीसी र पोलिट ब्यूरो गठन समावेस नगरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने केन्द्रीय सदस्यहरुले हंगामा गरे।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो लामो उद्घाटन मन्तव्य राखेर बैठकबाट बाहिरिए। त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सञ्चालन गर्न शुरु गर्दा नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले बैठक स्थलमा दुई अध्यक्षको तस्वीर राखिएकोमा आपत्ति जनाए। उनले राजामहाराजाको जस्तो दुई अध्यक्षको तस्वीर राखिएको भन्दै दाहालमाथि प्रश्न गरे, ‘यो तस्वीर राख्दा तपाईँलाई आनन्द आएको छ?’

यस्तै स्थायी कमिटी सदस्यसमेत रहेका भीम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुले उठेर एमसीसी, भारतीय नक्शा, पोलिट ब्युरो र ३३ प्रतिशत महिला आरक्षणका विषयमा प्रश्न उठाएका थिए।

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमाथि नै रहेर यी विषयमा पनि छलफल गर्न सकिने भन्दै आस्वस्थ पारेपछि बैठक अगाडि बढेको थियो।

बैठकको पहिलो दिन नै गुटगत तरंग देखिएकाले बाँकी दिन पनि जारी केन्द्रीय कमिटी सजिलो गरी अगाडि नबढ्ने संकेत देखिएको छ।

४४६ सदस्यीय जम्बो केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय धुमबाराहीमा बस्न सम्भव नभएपछि राष्ट्रिय सभा गृहमा चलिरहेको छ। तर, सबै केन्द्रीय सदस्यले बोल्न पाउने अवस्था भने नरहेको बताइएको छ। त्यसैले १५ वटा समूह बनाएर समूहगत छलफल चलाउन १५ वटा समूह बनाइएको छ। बिहीबार समूहगत छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *