नेकपाले मार्क्स, लेनिन् र माओलाई विर्सेकै हो?

डिसी नेपाल
१५ माघ २०७६ २१:४९

काठमाडौं। सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बुधबार राजधानीमा शुरु हुँदा विभिन्न परिदृश्य देखिए। पार्टी एकीकरणपछि हरेक ६ महिनामा बस्नुपर्ने यो बैठक पहिलो पटक बस्दै छ। ४ सय ४६ सदस्यीय नेकपाको केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय धुमबाराहीमा बस्न सक्ने अवस्था नभएपछि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा जारी छ।

बैठकस्थल ‘लालमय’ हुँदा एउटा फरक दृश्य देखियो बुधबार। कमुनिष्टका आदर्श दार्शनिक कार्ल माक्र्स, माक्र्सबादका सफल प्रयोगकर्ता लेनिन् र चीनमा नौलो जनवादी क्रान्ति सफल पारेका माओका तस्वीर कतै देखिएनन्। यतिमात्र होइन, वर्तमान नेकपाको एक प्रमुख घटक तत्कालीन एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको तस्वीर पनि देखिएन।

बरु दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका तस्वीर देखिए। ब्यानरमा भने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारीको तस्वीरमात्र राखियो। पार्टी एकीकरण अघि तत्कालीन एमालेले अधिकारीको तस्वीर कहिल्यै हटाउँदैनथ्यो भने तत्कालीन माओवादी केन्द्रले माओको तस्वीर पनि हटाउँदैनथ्यो।

तर, जब यी दुई पार्टी मिलेर नयाँ पार्टी नेकपा जम्नियो, अधिकारी र माओ त गायब भएसँगै लेनिन् र माक्र्स पनि गायब भए।

यसरी विदेशी नेता तथा दार्शनिकको तस्वीर हटाएपछि सामाजिक सञ्जालमा टिका प्रसाद ढकालले लेखेका छन्, ‘त्रिपुरामा लेनिनको सालिक ढल्यो मार्क्सवाददेखि उदारवाद सम्मका विचार नयाँ चुनौतिको हल खोज्न अपर्याप्त हुँदैछन्, नेकपाले विदेशी दार्शनिकका तस्वीर अप्रासंगिक देख्दै जानु सकारात्मक, पार्टी संस्थापक पुष्पलाल, विचारका नेता मदन भण्डारी नै नेकपाको आदर्श मानिनु राम्रो।’

बैठक आगामी १९ गतेसम्म चल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *