हात्तीपाइलेविरुद्धको अभियानः १० वर्षमा १० प्रतिशत मात्र घट्यो

डिसी नेपाल
१६ माघ २०७६ ८:१५

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका ठूलो सङ्ख्याल बासिन्दाले हात्तीपाइले विरुद्धको औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘असफल’ भइरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६७ देखि जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्य सञ्चालन गर्दै आएको छ।

अभियान सञ्चालन गर्नुपूर्व साविकको रझेना गाविसको ६ र ७ वडामा १०१ को रगत जाँच गर्दा २१ प्रतिशतमा सो रोग देखा परेको थियो।

पाँच वर्ष औषधि सेवनपछि २०७२ सालको माघ ३ र ४ गते नेपालगञ्ज र रझेनाका ६२४ को रगत जाँच गर्दा ९९ मा सो रोग झरेको थियो।

जिल्लामा दश वर्ष अभियान सञ्चालन गर्दा जिल्लामा दश प्रतिशत बिरामी घटेका छन् । पहिलो चरणको अभियान सञ्चालनमा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले १० प्रतिशत रहेको तथ्याङ्क छ।

गत वर्ष नेपालगञ्ज उपमहानगरपालिका–३ मा ६ प्रतिशतले मात्रै हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए।

वडा नं ७ मा १२ प्रतिशत, वडा नं ८ र ११ मा १३–१३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए।

नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै मन्त्रालयले एकपटकको अभियानमा रु १७ करोड बढी खर्च गर्ने गर्दछ।

यसपालि रु १७ लाख ३९ हजार ८५० खर्च गर्दैछ । अरु सात वटा स्थानीय तहको खर्च जोड्दा ठूलो बजेट हुने देखिन्छ तर औषधि सेवन दर भने बढ्न सकेको छैन।

आगामी माघ २५, २६ र २७ गते बाँकेमा दशौँ पटक औषधि सेवन गराइँदैछ । यसपालि हरेकलाई औषधि खुवाउने रणनीतिअनुसार उपमहानगरपालिकाले योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरेर ‘कसरी औषधिको कभरेज बढाउन सकिन्छ ? भन्ने विषयमा छलफल गरिरहेको छ।

उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले औषधि सेवनको ‘कभरेज’ बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने जानकारी दिए ।

“जसले ८५ प्रतिशतभन्दा बढी खुवाउँछ । त्यसलाई म पुरस्कृत गर्छु । त्यसको वडामा बजेट थपिदिन्छु । जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारवाही गर्छु”, प्रमुख उनले भने ।

उपमहानगरपालिकामा गत वर्ष ४० प्रतिशतले औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगविरुद्धको सम्पर्क अधिकृत दुर्गा गौतमले जानकारी दिए ।

गत वर्ष जिल्लाको ‘कभरेज’ ५४.९८ प्रतिशत थियो। पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधि सेवन गरेका थिए।

पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधि खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो।

त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधि खाएका थिए।

अभियान सञ्चालन गर्दा ‘सावधानी’ अपनाउन नसक्दा बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन्। अभियानको शुरुआतमा महिला स्वयंसेविकाले घर परिवार सङ्ख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको सङ्ख्या कम हुँदै गएको छ।

हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ सुन्निने हात्तीको जस्ता पाइला हुन्छन्।

लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको सङ्क्रमण हुने भन्दै उनले भने “हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ।”

मानिसलाई नडराई औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । स्वस्थ रहनका लागि निर्धक्क भएर औषधि सेवन गर्न आग्रह सम्पर्क अधिकृत गौतमले भने, “हरेक दिन कोही न कोही मानिसको मृत्यु भइरहेको हुन्छ, यस्ता घटनालाई अभियानसँग जोडेर भ्रामक प्रचार गर्नुहुँदैन ।” सोचेअनुसारको नतिजा नआएपछि जिल्लामा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ।

अभियान सञ्चालन भइरहँदा जिल्ला अझै पनि करिब १३ प्रतिशत सो रोगका बिरामी रहेका छन् । यो अवस्थालाई हेर्दा जिल्लामा अझै पनि सो रोगको उच्च जोखिममा रहेको छ।

सो रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ तर जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ।

सरकारले सन् २०२० सम्ममा सो रोग निवारण गर्ने लक्ष्य लिए पनि सो रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हुँदै गएको छ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई औषधि सेवन गराउन हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *