खुला-पत्र : ताना शर्मा र खगेन्द्र लुईंटेल ज्यू, यसको उत्तर छ तपाईंहरुसंग ? – Dcnepal

खुला-पत्र : ताना शर्मा र खगेन्द्र लुईंटेल ज्यू, यसको उत्तर छ तपाईंहरुसंग ?

प्रिय सम्पादक,

अमेरिका आएर हामीले नेपालतिरै फर्केर लेख्यौं । सोचें म जुन माध्यमले यहां अडिएं, मैंले कृतज्ञ हुनैपर्छ यहांको माटोप्रति । त्यसैले सन् २००५ मा आफैंले ‘सेतु’ काव्य संग्रह सम्पादन गर्नु पर्‍यो र गरें । त्यसमा ‘हरीश वैदिक’ को नामले दुईटा कविता लेखेर किव बन्ने रहर मेंटें । उऋण पनि हुनु थियो । र यसमा २७ कविका ७४ रचना संग्रहित छन् । यद्यपि ‘सेतु’ सामूहिक काव्य—संग्रहमा पहिलो (?) हो । एकल कविका संग्रहचाहिं निस्किसकेका थिए । तर पांचजना मिलेर निकालेको काव्य-संग्रह ‘उत्तर अमेरिकाका नेपाली कवि र कविता’(सन् २००९। २०६६) लाई चारजनाको संपादन मण्डलले एक स्वरले पहिलोपटक निस्केको काव्यकृति भएको घोषणा गर्‍यो । (पृ.३८) जेठा कृति कयौं होलान् । खोज्नैपर्छ ।

स्मरणीय छ ‘सेतु’(२००५) पछि नै उत्तर अमेरिकाका नेपाली कवि र कविता निस्केको हो । यदि यो नै पहिलो हो भनिन्छ भने प्रो. ताना शर्मा पनि यो निर्णयमा समावेश हुन्छन् । र उनी प्रधानसम्पादकको कलम उठाएर लेख्छन्, ‘सानो र प्रथम प्रयास ।’उनले ‘सेतु’ लाई जेष्ठता दिन सकेनन् । पांचजनाले बल लगाएर भनेपछि दोस्रो स्थानको कृति पनि पहिलो हुने भो । किन यस्तो हुन्छ, आजसम्म यसको खोलुवा दिएको छैन । न अरु कसैले यसबारे रुचि नै देखायो । यदि उत्तर अमेरिकाका नेपाली कवि र कविता (२००९) लाई पहिलो नै सिद्ध गर्ने हो भने २१ किसिमले यसलाई पहिलो सिद्ध गर्न सकिन्छ । त्यसका लागि आधार छन् । मौका परे देखाउन सकिन्छ ।

पांचजनाले बल लगाएर भनेपछि दोस्रो स्थानको कृति पनि पहिलो हुने भो । किन यस्तो हुन्छ, आजसम्म यसको खोलुवा दिएको छैन ।

प्रश्न छ के भने भ्रम सिर्जना गर्नु साहित्यिक मार्ग हो ? सत्यता छोप्नै पर्छ आफ्नो कुरा माथि पार्न ? के जनमत जम्मा गरेर पीतललाई सुन भनिदिंदा त्यो सुन भइदिन्छ ? पहिल्लो संग्रहलाई पहिलो भन्ने सम्पादक मण्डलका एक सदस्य त ‘सेतु’ का कवि पनि हुन् ? अव उनको कवि र सम्पादकमाथि प्रश्न चिन्ह उभिन्छ कि ? पहिलो हुन खोज्ने आधार चाहिन्छ । त्यसका लागि त्यो सम्पादक जो सेतुको कवि पनि हो २१ किसिमले पहिलोमा दरिनसक्छ ।

त्यस संग्रहको भूमिका लेखक डा.खगेन्द्रप्रसाद लुइंटेलले पनि आफ्नो योग्यता देखाइदिए । ‘पहिलो पुस्तकाकार’ संकलन (पृ.३१) भनेर यसैलाई पहिलो भनिदिए । शंका लाग्छ—स्थापित व्यक्तिहरुको अभिमत र हस्ताक्षर लिन गरिएको छल त थिएन त्यो कर्म ? फेरि सम्पादक मण्डलमा साहित्य र संस्कृतिसंग प्रश्लिष्ट। दरोगरी जोडिएका व्यक्तिहरु नै छन्, के ती सबै अन्जान नै थिए होला त ? तर सेतुको पक्षमा बोल्ने प्रतिपक्ष शायद त्यहां थिएन । बहुमतको संसदले पास गरेपछि पित्तल सुनमा परिणत हुदैन त ? के रे, मेरो गोरुको बारै टक्का ।

फेरि सेतु कहिले प्रकाशित भयो भन्ने कुरा डा. गोविन्दराज भट्टराईले कन्तिपुरको साहित्य परिशिष्टांक (साहित्यसम्बन्धी विशेष पृष्ठमा) विशद र गहन विवेचना प्रस्तुत गरिसकेका हुन् र सोही विवेचनामा लंडन (संयुक्त अधिराज्य) का कविताको संगालो पनि समेटिएको दुई संग्रहबीच तुलना मीमांसा वौद्धिक र सारगर्भित पनि छ। के त्यो लेख पनि पॉचैजना सम्पादकको दृष्टिमा परेन होला त ?

दुई संग्रहबीच तुलना मीमांसा वौद्धिक र सारगर्भित पनि छ। के त्यो लेख पनि पॉचैजना सम्पादकको दृष्टिमा परेन होला त ?

किन यस्तो भयो होला ? किन यस्तो गराइयो होला अथवा त्यस्तो कुनै वाध्यता वा विवशता थियो कि ? ‘उत्तर अमेरिकाका नेपाली कवि र कविता’ का सम्पादक छंदै छन् र ती साहित्य र संस्कृतिको गतिविधिसंग अझै पृथक रहेका पनि छैनन् । त्यसैले आशा गरौं—औचित्य सिद्ध गर्लान् । अज्ञानवश यस्तो सुकर्म हुनै सक्तैन । काव्य संसद अनुदार हुने गर्दैन ।

एटर्नी विनोद रोका र डा.युवराज भट्टराईको संयुक्त संकलन ‘हाम्रो विश्व दुई आँखामा’(सन् २००४) लाई पनि पाखा लगाउने ? यस्तो किन ? संस्कृतिका पाठकहरुले उत्तर माग्न सक्नुपर्छ । पठन-विवेचना आफू खुसी गर्न सकिन्छ तर गलत जानकारी दिनु अपराध हो । छोप्ने, लुकाउने र बेवास्ता नियतले हामीलाई अमानुष बनाइदेला कि ? चिन्ता यतिमात्र हो । पर्दा उठ्नुपर्छ ।

विज्ञ जानकारहरुले चासो देखाऊन् । यही कामना छ ।

हरिराज भट्टराई
सिल्भर स्प्रिंग, मेरिल्याण्ड
फोन नं—२४० ६४३ ३९४४

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो