अमेरिकामा आप्रवासी नीतिमा भएको परिवर्तनले नेपाली समुदायलाई पर्ने असर

डिसी नेपाल
१८ माघ २०७६ ३:२८

अधिवक्ता साधना घिमिरे

नेपालका बिभिन्न समुदाय, जात, भाषा र तप्काका प्रतिनिधित्व गर्नु हुने बिभिन्न नेपालीहरु अमेरिकाको बिभिन्न कुनामा छरिएर रहनु भएको छ । सबै नेपालीहरु अमेरिकामा स्थायी बसोबास गर्ने अनुमती पाएर वा अमेरिकी नागरिकता लिएर बस्नु भएको भने होइन । कोही विद्यार्थी, कोही अन्य भिसामा प्रवेश गर्दै यहीं आफ्नो उज्वल भविष्यको खोजी गरेर बस्दै आउनु भएको छ । शरणार्थीका रुपमा बसोवास गर्न आवेदन दिने नेपालीहरुको संख्या पनि ठुलै छ । यसै सन्दर्भमा सन् २०२० मा अमेरिकाको कस्ता आप्रवासी नीतिहरुले नेपालीहरुलाई कस्तो प्रभाव पार्ने छ भन्ने बिषयमा केही जानकारी गराउन प्रयास गरेको छु । ब्यक्त गरिएका बिचारहरु मेरा ब्यक्तिगत बिचारहरु हुन् । यसलाई कानूनी सल्लाहको रुपमा नलिनु हुन अनुरोध छ ।

शरणार्थी प्रवेशः
ट्रम्पको यात्रा बन्देज नीतिअन्तर्गत १२० दिनको लागि स्थगित गरिएको शरणार्थी प्रबेश नीतिपश्चात ट्रुम्प प्रशासनले २०१९ को लागि मात्र ३० हजार शरणार्थी भिसा जारी गरेको थियो भने २०२० को लागि जम्मा १८ हजारमात्र शरणार्थी भिसाको सीमा तोकेको छ । यसबाट शरणार्थीलाई अमेरिकामा अबका बर्षहरु त्यति सहज नहुने प्रस्ट छ । यस नीतिले नेपालीहरु लाई अबश्य निकै असर पर्ने देखिन्छ ।

यात्रामा बन्देजः
राष्ट्रपति ट्रम्पले २०१६ मा चुनावको प्रचार गर्ने क्रममा महान पर्खाल बनाएर पश्चिमतर्फको सीमा सुरक्षित गर्ने घोषणा गरेका थिए । सपथग्रहणको पहिलो हफ्ता नै उनले आप्रवाससम्बन्धी नीतिअन्तर्गत यात्रामा बन्देज लगाउने कार्यकारी आदेश जारी गरे । उक्त नीतिले नेपालीहरुलाई कुनै समस्या नपारे पनि सात राष्ट्रहरुका यात्रुहरु लाई ९० दिनका लागि प्रवेश निषेध र १२० दिनका लागि शरणार्थीहरुलाई प्रवेशमा बन्देज लगाएको थियो । तर त्यो नीतिलाई एक प्रदेशिक अदालतका न्ययाधीशले रोक लगाएका थिए । तीनपल्टसम्म परिमार्जित गरिएको सो यात्रा बन्देज अमेरिकी सर्बोच्च अदालतको निर्णयपश्चात हालसम्म जारी नै छ । आप्रवास नीति संगठनको तथ्यांकअनुसार ईरान, सोमालिया, सिरिया र यमनजस्ता देशबाट अमेरिका भित्रनेहरुको संख्या ७५ प्रतिशत कम भएको छ ।

आस्थायी संरक्षण टीपीएस
बिपद, द्वन्द, वा अन्य असाधारण परिस्थितिका कारण आफ्नो देश फर्किन नसक्ने भएर अमेरिकामा रहनु भएका मानिसहरुलाई अस्थायी संरक्षण प्रदान गर्ने नीतिअन्तर्गत सन् २०१५ मा नेपालमा भुइचालो जाँदा त्यस समय अमेरिकामा रहनु भएका नेपालीहरुलाई आस्थायी संरक्षण दिइएको थियो । हाल करीब १४ हजार ५०० जना नेपालीहरु यसै आस्थायी संरक्षण टीपीएसअन्तर्गत अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । एक अमेरिकी अदालतले सन २०१८ को अक्टोबरमा चार देशको आस्थायी संरक्षण अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई रोक लगएपछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनवरी २०२० सम्मका लागि समय दिएको थियो । त्यसैबीच नेपालीको पनि आस्थायी संरक्षण टीपीएस समाप्त गरिएकोमा हाल उक्त समाप्तीलाई थमौती गर्दै अदालतबाट निर्णय नहुन्जेल स्थगित गरिएको छ । नेपालीको टीपीएस २०२१ जनवरी ४ सम्मका लागि बढाइएको छ । तर यो काम गर्न पाउने अधिकारको म्याद बढाउने व्यवस्था मात्र हो । मुद्धाको फैसला हुनासाथ समयावधि परिवर्तन हुन सक्दछ ।

(अधिबक्ता घिमिरे, वैदेशिक कानुनी परामर्शदाता (नेपाल), क्यालीफोर्निया बार एसोसिएसन र हाल लोयोला ल स्कूल, लस एन्जलसबाट कानुनमा पीएचडीमा अध्ययनरत छिन् )
इमेलःsusadh@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *