ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ
सांकेतिक तस्बिर
राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस्तै बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी साविक जमुनिमधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र साहकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रुपनी गाउँपालिका–४ का ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार अरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विद्युत् चोरीको आरोपमा २४ पक्राउ
सप्तरीमा विद्युत् चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत् चोरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका २४ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment