सदाबहार ‘विजयी’ गच्छदारमाथि अख्तियारको धब्बा

डिसी नेपाल
२३ माघ २०७६ १०:००

काठमाडाैं।  जस्तो नाम, उस्तै सफलता। विजयकुमार गच्छदार थारु समुदायका एकमात्र त्यस्ता नेता हुन्, जसले छैठौं पटक सांसद भएर विजयीको माला पहिरे। उनले दाबी पनि गरेका छन् कि अबको ५० वर्षसम्मयो इतिहास कुनै थारुले दोहोर्याउन सक्ने छैनन्।

तर, अब इतिहास बदलिएको छ। सदाबहार विजेताको उनको छविमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दाले कालो धब्बा लगाइ दिएको छ। यद्यपी अहिलेलाई यो आरोपमात्र लागेको हो। विशेषबाट उनले सफाइ पनि पाउन सक्छन्, जेल पनि जान सक्छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरको सडक चौडा बनाउने निर्णय गर्दा मन्त्रिपरिषदले सडक बनाउँदा मासिएको जग्गा सट्टापट्टा गर्ने निर्णयसमेत गरेको थियो। यो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा चलाएको छ।

अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा मुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय लियो।

नेपाली राजनीतिमा चतुर नेताको रुपमा चिनिने गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी, ८ पचरामा भएको हो। बुबा शिरु गच्छदार र आमा खुतलीदेवीथारुको कोखबाट जन्मेका गच्छदारका १ छोरी र २ छोरा छन्। गच्छदारकी आमाको केही समय अगाडि मात्रै निधन भएको थियो।

इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए। कांग्रेसका नेताका रुपमा गच्छदारले संसदमा २०४८ सालमा विजयीको पहिलो खाता खोले।

दलबदल गर्दै आएपनि उनले लगातार चुनाव जित्दै आएका छन्। २०७४ सालमा भएको संसदीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा तत्कालीन एमालेकी भगवती चौधरीलाई पराजित गर्दै उनले आफ्नो अपराजित यात्रा अघि बढाएका थिए।

गच्छदारले केवल ३२१ मतले भगवतीलाई पराजित गरेका थिए। गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा भगवतीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन्। यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि यिनै चौधरीलाई पराजित गरेका थिए। त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष थिए।

मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तत्कालीन एमाले र माओवादी केन्द्रले कम्युनिष्ट गठबन्धन बनाएपछि उनले फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा विलय गराएका थिए। २०७४ असोज ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा गच्छदारले कम्युनिष्टहरुबाट मुलुकमा जनवादी संविधान ल्याउने प्रयास भएकाले लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग पार्टी एकीकरण गर्नुपरेको प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्री बन्ने उच्च लालसमा रहेका उनी प्रधानमन्त्री नबन्दै अख्तियारले गच्छदारको राजनीतिक जीवनमा कालो धब्बा लगाइ दिएको छ।

नेता गच्छदारले २०४८ सालको आमनिर्वाचन, २०५१ को मध्यावधी निर्वाचन र २०५६ को आमनिर्वाचन कांग्रेसबाट जितेका थिए। उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधानसभा निर्वाचन नेपाल लोकतान्त्रिक फोरमबाट आफ्नो अपराजित यात्रा यथावत राखेका थिए।

गच्छदार सधैं सत्ताको केन्द्रविन्दुमा रहे। २०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई उनले प्रभावशाली मन्त्रीका रूपमा छवि स्थापित गरेका थिए। कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिरिएका थिएनन्।

पहिलो संविधानसभा निर्वाचन भन्दा केही समय अघि आफ्ना केही मान्छेले टिकट नपाएको विरोधमा गच्छदारले तत्कालीन पार्टी सभापति कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए। तर कांग्रेससँगको पार्टी एकीकरणमा उनले मधेसी जनताको हक–अधिकार स्थापितगर्न पार्टी परित्याग गरेको बताएका थिए।

पहिलो संविधानसभा निर्वाचन जितेका गच्छदारले माओवादी नेतृत्वको सरकार सात महिनामै ढलेपछि फोरमलाई फुटाएर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका थिए। त्यसपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बनेका गच्छदार तत्कालीन एमाले नेता माधव कुमार नेपालको नेतृत्व गठन भएको सरकारमा सहभागी बनेका थिए।

१३ पटक मन्त्री

गच्छदार उपप्रधानमन्त्रीका रूपमा ५ र मन्त्रीका रूपमा १३ पटक प्रभावशाली र ‘आकर्षक’ मन्त्रालय लिएर सत्ताको केन्द्रमा छाइरहे। राजनीतिक दलका नेताहरू उनलाई मन्त्रीमा लोकसेवा नै पास गरेको भन्दै व्यंग्यसमेत गर्छन्।

२०७४ मा सम्पन्न निर्वाचनमा उनले मतदातासँग आगामी दिनमा आफू प्रधानमन्त्री हुने भन्दै मत मागेका थिए। यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि ‘थारूको छोरोलाई प्रधानमन्त्री बनाउनु होस्’ भन्दै मत मागेका थिए।

गच्छदार ०४८ देखि नै गिरिजाप्रसाद कोइरालाको निकट रहेर सत्तामा हावी बन्न पुगेका थिए। त्यतिबेला कोइरालाको किचेन क्याबिनेटका रूपमा एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदार) का नामले उनी चर्चामा थिए। प्रधानमन्त्री बन्ने उच्च लालसमा रहेका उनी प्रधानमन्त्री नबन्दै अख्तियारले गच्छदारको राजनीतिक जीवनमा कालो धब्बा लगाइ दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *