२००७ सालमा लिम्बूबाट लुटिने डरले गाउँ छाडेर हिँड्दा

नेपालको राजनीतिक प्रणालीले फड्को मारेर कहांबाट कहां पुगिसकेको छ । मैंले थाहा पाउने हुंदा राणा शासन थियो अहिले भएका राजा पनि हटाइएर गणतन्त्रात्मक शासन पद्धति आइसकेको छ । मैंले थाहा पाउंदा नेपाली कांग्रेसको जगजगी थियो अर्थात् राजनीतिक दलमा त्यहीमात्रै चर्चित थियो भन्दा हुन्छ त्यो बेला । म सानै थिएं २००७ सालको राजनीतिक परिवर्तन हुंदा । प्रजातन्त्रको घोषणाअघि नै अर्थात् आन्दोलन चलिरहेका बेला  लिम्बूले लुटपाट गर्छन् भन्ने कुराको त्रास पूर्वी पहाडका बस्तीका क्षत्री वाहुनहरुमा थियो । यही त्रासमा हामी यसरी आफ्नो मूल थलो छोडेर रातारात वाहिरिएका थियौं । राणा शासन हटेर प्रजातन्त्र आउंछ भनिन्थ्यो तर हामीलाई भने ठूलो संकट आइपरेकोजस्तो भएको थियो । हामीलाई रातारात हाम्रो घरबाट सारेर दार्जिलिङ्ग लगिंदै थियो ।

तत्कालीन पल्लो किराँत (लिम्बूवान)धनकुटा गौँडा, तेह्रथुम, आठराई चुहान्डाँडामा हाम्रो घर थियो (अहिले पनि छ) । फेदाप खाम्लालुङ्गमा बि.स.१९१८ सालमा हाम्रा पुर्खाले जग्गाधनी लिम्वूहरू बाट हातिखावा नामको खर्क (जंगल) भोग बन्दकीमा (अस्थायी स्वामित्व ) खरिद गरी पशुपालन(खासगरी भैँसी पालन) गर्ने गरिएको रहेछ । यसै सिलसिलामा खर्ककै हाताभित्र वाईफुङ्ग डाँडामा २००३ सालमा डिहीघर (सानो याक्सा घर) बनाई मेरा आमा बुवा गोठको रेखदेख गर्न चुहान्डाँडा बाट गई करिव करिव स्थायीरुपमा नै रहन थाल्नु भएछ । ३ घण्टाको पैदलबाटो उत्तर । आमा, बुवा, भाइ र म हामी चारजना घरमा हुन्थ्यौँ । एकजना गोठालो (जंगलमा गाई भैँसीको रेखदेख गर्न) थिए । हाम्रो घर गाउँका अरुघरहरुबाट टाढा थियो । खाम्लालुंग गाउँमा लिम्बू समुदायका मानिसहरुको बाहुल्यता थियो र छ ।

त्रिमोहन हाइस्कुल, मूलपानी, आठराई

पुरा आठराई क्षेत्रमा मुलपानीमा  एउटा भाषा पाठशाला थियो । त्यहाँ संस्कृत र  नेपालीभाषाको सामान्य पढ़ाइ  हु्न्थ्यो । १९८० को दशकमा ब्रम्हलाल सिटौलाको नेतृत्वमा सिटौलाहरुले निजी खर्चमा तमोर नदीमा पुल बनाएका हुँदा नेपाल सरकारले पाठशाला खोल्ने स्वीकृत दिएको रहेछ । स्कूल पुग्न मेरो घरबाट तीन घण्टा समय लाग्थ्यो ।

मेरो काम भाइ हेर्नु खेल्नु र आमाबुवालाई घरको सानोतिनो काम सघाउनु हुन्थ्यो । गाउँले केटाकेटी सबैको यस्तै उस्तै भेडा बाख्रा घाँसदाउरा पानी सोतर मेलापात गर्दैमा बालख काल बित्थ्यो र ठूलो भएपछि खेती किसानी । लिम्बू परिवारका छोराहरु भने १६ बर्षको उमेर पुगेपछि मलया(अहिले मलेसिया) मा बृटिश लाहुरे हुन जान्थे । उनीहरुको पहिलो छनोट मलयाको बृटिश सेनामा भर्तिहुने हुन्थ्यो ( मलया त्यसबेला बृटिशको उपनिवेश थियो) भने दोश्रो छनोट भारतीय सेनामा भर्ती हुने । छेत्री समुदायका केही युबाहरु भारतको आसाम रायफÞल्समा भर्ती हुन जान्थे । ब्राह्मण सम्प्रदायका केही ब्यक्तिहरु कामको खोजीमा बर्मा र आसाममा जाने गरेका थिए । ब्राह्मण परिवारका अलि हुनेखाने केही सम्पन्न एकाध परिवारले भने एकदुई छोराहरुलाई पढाउनका लागि नेपाल (काठमाण्डू, उसबेला काठमाण्डूलाई नेपाल भनिन्थ्यो) र  भारतको बनारस(काशी)मा पठाउने गरिएको रहेछ । गाउँलेको ब्यवसाय भने खेती किसानी पशुपालनमात्रै थियो । जाति अनुसारको सानातिना घरेलु व्यवसाय चल्थ्यो र समाजका आवश्यकता पूरा गरिन्थ्यो । घर व्यवहारमा आबश्यक पर्ने चीज  बस्तु अन्नसँग साटासाँट गर्ने चलन थियो । समाजमा विविधता थियो ,छुवाछुत प्रथा थियो । पुरातन रुढीबादी संस्कार थियो । अन्धविश्वास थियो । शिक्षाको अभाव भएपनि मानवता नैतिकता एक आपसमा भाइचाराको सम्बन्ध राम्रो थियो ।

तेह्रथुम बहुमुखी क्याम्पस (वीरेन्द्र इन्टर कलेज), चुहानडाँडा आठराई

गाउँले जीवन सामान्यै हुन्थ्यो । जे थियो त्यसैमा सन्तोष । राणाहरुको एकलौटी जाहानीयाँ शासन भएको हुँदा सर्वसाधारण गाउँले राजनीतिबाट टाढा थिए । गाउँले जीवन गोठाला हली खेताला । गाउँ घर सामान्यतया शान्ति नै देखिए पनि गाउँबाट कामको खोजीमा  बाहिर गएका मानिसले केही पैसाका साथै केही नयाँ सोच पनि लिएर आउँदा रहेछन् । बाहिरका संसारको गतिविधि अलिअलि बुझेपछि त्यस्तै चाहना हुनु  मानव स्वभाव नै हो ।

 

यसै सिलसिलामा देशमा केही हलचल भइरहेको आभास पाउन थालिएको थियो । राजा, माहाराजा, श्री ५ राजा, श्री ३ राणा, कांग्रेस, प्रजातन्त्र, हुकुमी शासन, क्रान्ति, आन्दोलन भन्नेजस्ता शब्दहरु बुवाबाट  बेलाबखत सुनिन थालेका थिए । केही अपबादलाई छोडेर आठराई क्षेत्रमा लिम्बू र बाहुनको सम्बन्ध सामान्यतया राम्रै थियो ।

हाम्रो बसाइ लिम्बूगाउँमै भएको हुनाले बुवाको लिम्बूहरुसँगको सम्बन्ध बिशेष राम्रो थियो । आठराईका मैनाली, संग्रौला, प्रसाईँ, भट्टराई, थपलिया, उप्रेती,  ओली, भण्डारी, गोतामे, सिटौला थरका केही प्रभावशाली बाहुनहरुलाई राणाहरुले लप्टन, खरदार, सुबेदार, बैदार, म्याम्वर, राइटर, ठानेदारजस्ता सानातिना पदहरु दिएर आफ्ना समर्थक बनउँदा रहेछन । यसै कारणले लिम्बूहरुले बाहुनहरुको अलि अलि रिस गर्दा रहेछन । कांग्रेस र राजा मिलेर राणालाई हटाउनलाई नेपालमा क्रान्ति  शुरुभएको छ  भन्ने गाउँमा हल्ला चलेको थियो । यही मौकाको फाइदा लिएर लिम्बूहरू राजा र कांग्रेसपक्षमा लागी राणाहरुसँग नजिक रहेका बाहुनहरुलाई लुटेर खेद्ने कार्य शुरु गरे । तर यसमा लिम्बूहरु एकमत  हुन भने सकेका रहेनछन् । खाम्लालुङ गाउँका लिम्बूहरु बाहुनहरुको सम्पति लुट्न र बाहुनहरुलाई खेद्नमा एकजुट भए पनि आठराईतर्फका लिम्बूहरुको त्यसमा पूर्ण सहयोग भएनछ । खासगरी चुहाडाँडाका लिम्बूहरुले हामी दुवैपक्ष मिलेर राणाको बिरोध गर्नु पर्छ भनी बाहुनहरुको सम्पति लुट्ने खेद्ने कामलाई रोक्ने केही प्रयास गरेका रहेछन् । फेदाप थुमका खाम्लालुङ,साम्थाङ,वाइफुङ, दोरप पाक्तिन, डाँडागाउँ  र आठराईतर्फका मुल्पानी,याङखुवा, कालिपा, ईवा, होडा, भदौरे, सिम्ले, ह्वाकु, चोक्पुर, निघुरादिन, फुलबारी, छिन्ताङ, हाङपाङ, नेस्सुम, चाँगे गाउँमा भएको लुटपाटको तुलनामा भने चुहानडाँडामा केही कम लुटपाट भएको थियो । ह्वाकु खुर्पाथोक गाउँमा चन्द्रप्रसाद भट्टराईले लिम्बूलाई लुट्न दिनुभन्दा त घरको ढिकुटीमा भएको अन्न पात र भाँडा कुँडा गाउँलेलाई बाँडेर घरमा आगो लगाएर हिँडेका थिए रे ।

खमलालुङ वार्ड २ मा बनाइएको फुटबलको प्रतीक

लिम्बूवान क्षेत्रका १७ थुम इलाकामा आठराई थुम इलाका यस्तो थियो जहाँ लिम्बू र बाहुनको  आपसी सम्बन्ध केही अपवादलाई छोडेर नङमासुको जस्तैजस्तै थियो । यसका अतिरिक्त लिम्बू र बाहुनबीच लगाइने गरेको मितेरी सम्बन्धका कारण पनि परिवारमा स्थायीरुपमा पर्न जाने भावनात्मक आत्मीयताले आपसी सम्बन्ध  सुमधुर बनाएको थियो । सिटौला र लिम्बू परिवारका केही प्रभावशाली ब्यक्तिहरूको  मितेरी सम्बन्धका कारण एक आपसमा गहिरो आत्मीयता थियो ।

चुहानडाँडा आहाले गाउँका पदमबाहादुर लिम्बू र वेदचार सिटौलाले मित लगाएर मितेरी नाता कायम गरेका थिए । चुहानडाँडामा बाहुनहरुका घर लुट्ने लिम्बूहरुको नेतृत्व पदमबाहादूर लिम्बुले गरेको छ र आज भोलि घर लुट्न आउँदैछ भन्ने खबर आएपछि हाम्री हजुरआमा र पल्लाघरकी हजुरआमा घरमाथिको बारीको पाटामा गुन्द्री, गजेरा राडी, गलैँचा, बिछाएर बस्नु भयो र भन्नुभयो—ल ! त्यो पदे (पदम बाहादुर लिम्बू ,मित छोरो) मेरो घर लुट्न कसरी आउँदो रहेछ म पनि हेर्छु । हजुरआमाले त अड्डी कस्नु भयो तर अन्य गाउँका लिम्बू आएर लुट्ने भन्ने खबर आउनुका साथै माथिल्ला गाउँमा थपलिया, उप्रेती, प्रसाईँका घर लुटेको थाहा भएको हुँदा हजुर आमा, आमाहरु, फपुहरु, दिदीहरुलाई देवीथानमा लुक्न पठाएर अरु हामी छोरा भुराहरुलाई चैँ गुन्द्रीबजार(भारत दार्जिलिङ्ग) पठाउने निर्णय गरी हामी  केटाहरुलाई हिँडाइयो ।

गुन्द्रीबजारमा हाम्री साहिँली फुपू, फुपाजु कान्छा दाजु, मित्र, डिल्लु, मनु दाजुहरु थिए । त्यसदिन हामी सबै यति खुसी भएका थियौँ कि हाम्रो खुसी देखेर आमा बुवाहरुले आफूलाई आइपरेका सबै आपत बिपतलाई सहजतका साथ लिएका थिए होलान् । घाम पश्चिम तीनजुरेको डाँडातिर ओरालो लागेको समयमा गुन्द्रीबजार जाने हाम्रो लर्को झर्यो ओरालो पूर्वतमोर नदीतिर । त्यो समयमा हामी निकै उत्साहित थियौँ ।

हिँडेको केहीबेरमै केही तल बोखिमको पँधेरेको बर पिंपल चैतारीमा बास बस्यौं । खुला आकाशमुनि हिउँदको रात जाडो त हुने नै भयो तर हामीलाई चिसोले खासै असर गरेन । हामी भुराभुरीहरु राति निकै अबेरसम्म गुन्द्रीबजारको रमझमको कल्पनामा रमाएका थियौं । साथै हामी कोही त त्यस रातको सपनीमा गुन्द्रीबजारै पुगेका पनि थियौँ । विहान झिसमिस हुँदा नहुँदा उठेर बाटो लाग्नलाई भारी तारी मिलाउँदै थियौँ । यस्तैमा माथि डाँडाबाट काईँला दाजुले “लिम्बूहरुले हाम्रो घर नलुट्ने भए गुन्द्रीबजार जानु नपर्ने भयो सबै घरै फर्कनु अरे” भन्नु भएपछि हाम्रा अभिभावकहरु खुसी भएका थिए । उनीहरुको मुहारमा डर मिश्रित खुसी थियो भने हामी केटाकेटीहरु साह्रै नै निराश भएका थियौँ । हिजो रातिसम्म गरिएका गुन्द्रीबजारका कल्पनाहरु राति निन्द्रामा देखिएका सपनाहरु सबै  सदा सदाका लागि समाप्त भएपछि हामी ज्यादै दुखी भएर घर फर्किएका थियौँ । हिजो बाटो लाग्दाको उल्लास निमेषभरमै चकनाचुर भयो । घरबाट पर सुदूरपूर्वमा देखिने फालेलुङ डाँडाको क्षितिजपारिको कल्पनाको संसारमा पुग्ने तीव्र इच्छा कर्कलाका पातको पानी भुइँमा झरेर बिलाएजस्तै बिलाएर गयो । घर फर्कनु पर्दा भाइ शिवको रुवाइले अरु हामी सबैलाई झन् धेरै दुखी बनाएको थियो ।

आखिरी जे हुनु थियो त्यही नै भयो । जे हुनु छ त्यही नै हुन्छ । २००७ सालमा आठराईबाट दशौँ हजार मानिस मधेश झरे गुन्द्रीबजार पुगे, हामी आठराईमा नै अड्कियौँ । तर त्यसपछिको समयलाई हाम्रा हजुरबा,  हजुरआमा, बुवा—आमाहरुको दुरगामी सोचले  आज आठराईमा प्रावि निमावि मावि गरी लगभग ७०—८० वटा  विद्यालयहरु र एउटा कलेज सन्चालन भइरहेछन् । बर्तमान समयमा  समग्र आठराईको साक्षरताको आँकडा ९५ प्रतिशतभन्दा माथि नै छ । २००७ सालको जनक्रान्तिले आठराईमा ल्याएको शिक्षाप्रतिको जनजागृतिले नेपालको समग्र पूर्वान्चलमा आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक एवं धार्मिक क्षेत्रमा पारेको प्रभावले ल्याएको परिबर्तनले बिशेष गरी नेपालको केन्द्रीय राजनीतिमा गहिरो एवं अमिट छाप लगाएको छ । (लेखक अमेरिकाको मेरिल्याण्डस्थित इण्डियन हेड शहरमा बसोबास गर्छन्)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position