नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न महोत्सव आयोजना

डिसी नेपाल
२७ माघ २०७६ १४:४४

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलमा प्रथम ऐतिहासिक ‘बहाने पोखरी’ महोत्सव हुने भएको छ। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय स्थल बहाने पोखरीको सौन्दर्य र महत्वलाई विश्वभर पुर्याउने उद्देश्यका साथ आगामी फागुन १३, १४ र १५ गते महोत्सव गर्ने तयारी गरिएको हो।

पानीको मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने बहाने पोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले महोत्सव गर्न लागेको हो। पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण बहाने पोखरीको प्रचारप्रसार गरेर यसको सौन्दर्य र महत्वलाई विश्वभर पुर्याउन महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

महोत्सवका लागि गृहबहादुर राईको संयोजकत्वमा २१ सदस्य समिति गठन गरिएको छ। गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थितमा सर्वपक्षीय भेला गरेर पहिलो चरणमा २१ सदस्यीय समिति गठन गरिएको हो।

महोत्सव सफल बनाउन नजिकका गाउँपालिकाका वडाहरु बाट पनि थप सदस्यीय समितिमा थपिने गाउँपलिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए। महोत्सवमा स्थानीय उत्पादनहरूको पनि प्रर्दशनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको वृहत सांस्कृतिक प्रस्तुती, खेलकुदलगायतका कार्यक्रम हुने संयोजक राईले बताए।

खोटाङको लैनसिङ बाङ्ग्देलमार्ग हुदै सो पोखरीमा पुग्न सकिन्छ पोखरीबाट जिल्लाको अधिकांश स्थान र छिमेकी जिल्लाहरू अवलोकन गर्न सकिन्छ। जनैपूर्णिमा र मंसिर पूर्णिमामा पोखरीमा ठूलो मेला लाग्ने गर्दछ। नयाँ वर्ष लगायतका विषेश पर्वमा युवायुवतीहरू पिकनिक जाने गरेका छन्। पोखरीको पूर्वतर्फ शङ्ख ढुङ्गा, नाग ढुङ्गा, स्तुपाहरु र केही माथि अन्य आकृतिका संरचनाहरू छन्। पोखरी आसपासमा चौँरी र भेडाहरू बढी पाइन्छ।

बिदेशी पर्यटकलाई समेत भित्र्याउने हिसाबले तयारी गरेको महोत्सवका काठमाडौं सम्पर्क संयोजक सरोज गिरीले डिसी नेपालसगको कुराकानीमा बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *