मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

डिसी नेपाल
२८ माघ २०७६ ६:३९

भद्रपुर । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ। मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो।

टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन, फक्सटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं गोर्खा फाउन्डेसन बेलायतका दाता रे जोन्सन र फक्सटनका पूर्व काउन्सिलर एवं गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरुङ छन् ।

सो अवसरमा फक्सटन टाउन काउन्सिलका मेयर मेडले मेचीनगर आउँदा आफूलाई गोर्खाहरुको शहरबाट गोर्खालीको घर आएको अनुभूति भएको बताए ।

मेचीनगरका प्रमुख आचार्यले मितेरी साइनो गाँसिएपछि फक्सटनसँग विकासमा साझेदारी हुने विश्वास व्यक्त गरे ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बेलायतको दक्षिणी नगर फक्सटन र नेपालको दक्षिणपूर्वी शहर मेचीनगर दुबैको भौगोलिक अवस्था उस्तैउस्तै रहेको बताए ।

मितेरी सम्बन्ध गाँस्न सूत्राधारको भूमिकामा रहेका मेचीनगरबासी एवं फक्सटनका पूर्व काउन्सिलर गुरुङले लामो कसरतपछि छ हजार माइल टाढाको फक्सटनसँग मितेरी गाँसिएको बताए ।

मेचीनगर र बेलायतको फक्सटन नगरबीच मितेरी सम्बन्ध स्थापनाका लागि संविधानसभा सदस्य रबिन कोइराला र हाल बेलायतमा रहेका पूर्व काउन्सिलर गुरुङको योगदानलाई विशेष स्मरण गरिएको छ।

विसं २०५३ मा मेचीनगर नगरपालिकाको प्रथम नगरप्रमुख रहेका बेला रबिन कोइरालाले नै फक्सटन नगरलाई मितेरी सम्बन्धको पहिलो प्रस्ताव गरेको र सो प्रस्ताव आफूले बोकेर बेलायत पुर्याएको पूर्व काउन्सिलर गुरुङ बताउँछन् ।

तत्कालीन नगरप्रमुख कोइरालाका अनुसार सन् २००६ नोभेम्बर १८ मा गुरुङमार्फत फक्सटनलाई प्रस्ताव पठाइएको थियो।

दुई वर्षपछि सन् २००८ अप्रिलमा फक्सटनले मेचीनगरको प्रस्वात स्वीकार गरेको पत्र पठाएको थियो। विसं २०६४ कात्तिक २१ गते शहरी विकास मन्त्रालयले मितेरी सम्बन्ध गाँस्न स्वीकृति प्रदान गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *