सप्तरीको राजविराजमा काँग्रेसको प्रदर्शन

डिसी नेपाल
२८ माघ २०७६ ८:२४

सप्तरी । डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ।

युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो।

काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका युवाहरूको मुद्दा फिर्ता माग्दै शहीद दशनचोकमा कोणसभा गरेको थियो।

नगरपालिकाका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि गत माघ २१ गते दुव्र्यवहार गरेको आरोपमा सोही नगरपालिका–३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव घटनास्थलाट पक्राउ परेका थिए।

नगरप्रमुख साहमाथि भएको दुव्र्यवहार र हातपातको विरोधमा गत बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको थियो।

नगरप्रमुख साहमाथि आक्रमण गर्ने आरोपितमाथि कारवाही नभएसम्म जिल्लाका सबै स्थानीय तह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गर्दै सप्तरीका नौ नगरपालिका र नौ गाउँपालिकाले सेवा बन्द गरेका थिए।

प्रहरीले पक्राउ गरेका तीनसहित पाँच जनाविरुद्ध बिहीबार नै गाली बेइज्जती र अभद्र व्यवहारको मुद्दा दर्ता गर्दै कारवाही अगाडि बढाएको छ।

आरोपित डाकनेश्वरी नगरपालिका–५ का महेश्वरप्रसाद यादव र वडा नं ७ का गजेन्द्रप्रसाद साह हालसम्म पक्राउ परेका छैनन्।

नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा गत मङ्गलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका बेला आरोपितको समूहले घेरा हाली दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको नगरप्रमुख साहको आरोप छ।

गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीले रोक्न खोज्दा उनीहरूमाथि नै हातपात भएको प्रमुख साहले बताए ।

प्रदर्शनपश्चात काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका युवाहरूलाई झुटा मुद्दा लगाइएको दाबी गर्दै रिहा नगरिए आन्दोलन थप चर्काउने चेतावनी दिए ।

पक्राउ परेका अमरेन्द्र डाकनेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष हुन् । आर्थिक अनियमितताको विरोध गर्दै प्रतिष्ठानको नेतृत्वमा स्थानीय युवाहरूले डाकनेश्वरी नगरपालिका कार्यालयमा मङ्सिर २९ गतेदेखि ताला लगाएर विभिन्न प्रदर्शनसहित आन्दोलन गरेका थिए।

द्विपक्षीय वार्तापछि गत पुस १२ गते २२ बुँदे सहमतिपछि ताला खुला भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *