‘लक्का जवान’को दोस्रो गीतमा दिलिप–प्रियंका, सलोन–वर्षाको जोडी
काठमाडौं। चर्चित हास्यकलाकार शिवहरि पौड्यालको निर्देशकीय डेब्यू चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रम गर्दै ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो।
डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ। भिडियोमा दिलिप र प्रियंका, सलोन र वर्षा जोडी बनेका छन्।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ। भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन्। ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’लाई ध्रुव वन्त र अनसुया वन्त श्रेष्ठले प्रस्तुत गरेका हुन्।
किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल चलचित्रको कार्यकारी निर्माताका रुपमा रहेका छन्। चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरि स्वयमको हो। चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुरेन्द्र केसी, सुशिल पोखरेल, जयनन्द लामा, सरोज खनाल, मनिषा श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्र सम्पादनको कार्यभार मित्र डि. गुरुङले सम्हालेका छन्।
चलचित्रमा केही पाका उमेरका मानिसहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको बताइएको छ। चैत २१ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment