नेपालमा जापानी भाषाको पुस्तक आधिकारिक बिक्रेता पाएसँगै नक्कली चाेरी गर्ने त्रसित

डिसी नेपाल
२ फागुन २०७६ ११:२०

काठमाडौं। जापान र नेपालबीच नेपाली कामदार जापान पठाउने सम्झौता भएसँगै नेपालमा जापानी भाषा सिकाउने र जापानी भाषाका पुस्तकको व्यवसाय फस्टाएको छ।

जापानी भाषाको पुस्तकमा राम्रो बजार देखेपछि एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्युसन प्रालीले जापानी पुस्तक कम्पनी थ्रीए कर्पाेरेशनसँग प्रतिलिपिको अधिकार लिएर  जापानी भाषा सिकाउने पुस्तक बजारमा ल्यायो।  एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्युसन जापानी भाषा सिकाउने ‘मिन्ना नाे निहाेङ्गाे भाग एक र भाग दुई’ बजारमा ल्यायाे।

तर, बजारमा पुस्तक बिक्री नभएपछि एमआर कम्पनी छाँगाबाट खस्यो, जब बजारमा यही नामका पुस्तकहरु छ्याप्छ्याप्ती भेटिए। जापानी कम्पनीसँग पुस्तक प्रकाशनका लागि प्रतिलिपि अधिकार लिएको कम्पनीले आफ्नो पुस्तक बजारमा बिक्री नभएपछि लगानी डुब्ने अवस्था सिर्जना भएको छ।

यो कम्पनीले एक विज्ञप्ति जारी गर्दै एमआर पब्लिकेशन र यसको आधिकारिक बिक्रेता सेन्चुरी बुक्स लिमिटेडलेमात्र बजारमा बिक्री र प्रकाशित गर्न पाउने भन्दै अन्यले गरे प्रतिलिपि कानूनअनुसार कानुनी प्रक्रियामा जाने बताएको छ।

एमआर पब्लिकेशनले प्रतिलिपि रजिष्ट्रारको कार्यालयबाट सो पुस्तकका लागि प्रतिलिपि अधिकारसमेत लिएको छ। तर, बजारमा जुन जापानी पुस्तकसँग एमआर कम्पनीले प्रतिलिपि अधिकार लिएको छ, सोही मुल पुस्तकबाट साभार गरी बजारमा धेरै प्रकाशक र बिक्रेताले पुस्तक निकाले छन्। यसरी ठूलो लगानी गरेर अधिकारसहित पुस्तक बजारमा ल्याउँदा ‘नक्कली’ पुस्तकका कारण समस्या भोग्नुपरेपछि एमआर कम्पनीले प्रतिलिपि रजिष्ट्रारको कार्यालयमासमेत यो विषय पुर्याएको छ।

त्यसपछि प्रतिलिपि रजिष्ट्रारको कार्यालय केही अनाधिकृत बिक्रेतालाई छलफलमा बोलाएर सम्झाएको जनाइएको छ। एमआर पब्लिकेशनले विज्ञप्तिमार्फत यस्ता अनाधिकृत पुस्तकको कारोबार नगर्न सार्वजनिक अपीलसमेत गरेको छ।

यो पुस्तकको आधिकारिक विक्रेता सेन्चुरी बुक्स लिमिटेडका सीईओ राजन फुयालले जापानी कम्पनीसँग प्रतिलिपि अधिकार र पुस्तक छाप्दासमेत करिब १ करोड लगानी गरिएको जानकारी दिए। उनले भने, ‘हामीले करिब १ करोड लगानी गरिसकेका छौं। तर, बजारमा नक्कली पुस्तकका कारण हाम्रो पुस्तक बिक्री भएको छैन। अहिले हामीसँग पचासाैं लाखकाे किताव स्टक छन्।’

उनका अनुसार बजारमा जापानी भाषा सेन्टर, कन्सल्टेन्सी र अज्ञात प्रकाशकले प्रकाशन गरेका करिब १ लाख पुस्तक बजारमा छन्। त्यसै कारणले गर्दा आधिकारिक प्रकाशक र विक्रेता मर्कामा परेका हुन्।

यसको कानूनी उपचारका लागि  प्रहरीसँग मिलेर  बजारमा रहेका अनाधिकृत प्रकाशकलाई नियन्त्रण लिने काम भइरहेकाे  फुयालले  बताए। उनले भने, ‘प्रहरी प्रतिलिपिकाे अधिकार राजिष्ट्रारकाे कार्यालयसँग समन्वय गरी कारवाहीकाे प्रक्रियामा अगाडि बढिरहेका छाैं।’

नक्कली किताब छाप्ने ६ जना प्रकाशकलाई प्रतिलिपिकाे अधिकार राजिष्ट्रारकाे कार्यालय डिल्लीबजारमा बुझाएकाे एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्युसन प्रालीका म्यानेजिङ डाइरेक्टर मेघराज शाहीले जानकारी दिए।

उनले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा आफूले केही प्रकाशकलाई बोलाएर छलफलसमेत गरेको बताए। उनले बजारमा रहेका अनाधिकृत पुस्तकहरु फिर्ता लिनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *