राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

डिसी नेपाल
२ फागुन २०७६ १९:०४

विराटनगर । प्रदेश सरकारले ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश मूल समारोह समितिको शुक्रबार बसेको बैठकले जनस्तरबाटै अपनत्व हुने गरी दिवस मनाउने निर्णय गरेको हो ।

दिवस प्रदेश मूल समारोह समितिका अध्यक्ष मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । दिवस सम्पन्न गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सचिव संयोजक रहने गरी समारोह व्यवस्थापन उपसमिति पनि बनाइएको छ ।

बैठकले फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने, फागनु ७ गते बिहान ७ बजे रोडशेष चोकमा भेलाभई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गर्ने र मूलसमारोहमा परिणत हुने तथा फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय गरेको छ ।

यसैगरी, धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति सम्मान र परिवारलाई राहत उलब्ध गराउने, प्रदेशका सञ्चारमाध्यमले प्रजातन्त्र दिवस विषयमा केन्द्रित रही विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले हरेक सङ्घर्षमा नेपाली जनताले गरेको बलिदानलाई सम्मान गर्न नै प्रदेश सरकारले छिनताङ काण्डका शहीद परिवारलाई राहतस्वरुप प्रतिपरिवार पाँच लाख प्रदान गर्ने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *