निर्भया केसको सुनुवाइका क्रममा न्यायाधीश नै बेहोस भएर ढलेपछि…

डिसी नेपाल
३ फागुन २०७६ ९:२५

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले निर्भया केसमा दया याचिकामाथि राष्ट्रपतिको फैसलालाई चुनौती दिने दोषी विनय शर्माको आवेदन खारेज गरिदिएको छ । त्यसपछि दोषीहरुलाई छुट्टाछुट्टै फाँसी दिने केन्द्र सरकारको निवेदनमाथि सुनुवाइ सुरु भएको थियो । सुनुवाइको क्रममा न्यायाधीश आर भानुमती बेहोस भएपछि सुनुवाइ स्थगित गरिएको छ । बेन्चमा रहेका अन्य जज र स्टाफको सहयोगमा उनलाई तत्काल उनको च्याम्बरमा लगिएको थियो ।

सोलिसिटर जनरल तुषार मेहताले भारतीय दैनिक भास्करसँग कुरा गर्दै भने ‘न्यायाधीश भानुमतीलाई तीब्र ज्वरो आएको थियो । ज्वरो अझै पनि कायमै छ । च्याम्बरमा डाक्टरले उहाँको जाच गरे । पक्ष विपक्षका तर्क सुन्ने क्रममा पनि उहाँलाई सन्चो थिएन र औषधी खाइरहनुभएको थियो ।’ उपचारपछि उनलाई होस आएको थियो ।

यसअघि दोषी विनय शर्माको आवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आर भानुमति, न्यायाधीश अशोक भूषण र न्यायाधीश एएस बोपन्नाको बेन्चले विनय शर्माले आफ्नो मानसिक स्वास्थ्य खराब भएको भनी दिएको निवेदन खारेज गरेको थियो । विनय शर्माले जेलमा लगातार यातना दिइएका कारण आफू मानसिक रोगी भएको भन्दै फाँसी रोक्न माग गरेका थिए । अदालतले विनयको मेडिकल रिपोर्टले उनको स्वास्थ्य सामान्य रहेको देखिने ठहर गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *